शुक्रबार, चैत १६, २०८०

पोखरा महानगरले ट्राफिक भवनमा चलायाे डोजर

नेपालखोज २०७९ माघ १७ गते १३:१७

पोखरा । पोखरा महानगरपालिकाले पृथ्वीचोकमा रहेको पूरानो ट्राफिक घर भत्काउन सुरु गरेको छ । पोखरा महानगरपालिका-९ पृथ्वीचोकमा रहेको पूरानो ट्राफिक भवनमा मंगलबार महानगरले डोजर चलाएको छ ।

जीर्ण अवस्थामा रहेको भवनलाई भत्काएर सौन्दर्यकरण गर्ने पोखरा महानगरपालिकाको योजना छ। पूरानो ट्राफिक घर भत्काएर त्यहाँ पोखरा घर निर्माण सुरु गर्ने पोखरा-९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बताए ।

‘पोखराको पोखरा घर बनाउन पर्छ भनेर पोखरा महानगरले सुरुवात गरेको योजना अन्तर्गत आर्ट ग्यालरी, पुस्तकालय र एउटा घण्टाघर बनाउने सुरुवात गरेका छौँ’, उनले भने ।

पोखरा घर निर्माणमा ढिलाइ नहुने उनको भनाइ छ । ‘आकर्षक घर र सूचना केन्द्र आवश्यक छ भनेर योजना बनाएका हौँ। यसका लागि बजेट पनि विनियोजन भइसकेको छ’, वडाध्यक्ष मर्सानीले भने ।

पोखरा घर बनाउने भनिएको जग्गा पोखरा उपत्यका नगर विकास समितिको हो । तत्कालीन समयमा समितिले त्यहाँ बसपार्कका लागि टिकट घर बनाउने भन्दै जग्गा अधिग्रहण गरिएको थियो ।

जग्गा समितिले निशुल्क रूपमा बस टर्मिनलका रूपमा ०३२ सालमा लिएको थियो । लामो समयसम्म ट्राफिक कार्यालयको गोलघर बस्यो। करिब २ वर्ष अगाडिमात्र गोलघर केही माथि नयाँ भवनमा सरेको छ । अब पृथ्वीचोकको करिब २ रोपनी जग्गामा पोखरा घर बन्नेछ ।

प्रतिक्रिया