इन्धनको मूल्य भारतबाट बढेर आयो

नेपालखोज २०७९ माघ १८ गते १३:५९

काठमाडौं । भारतबाट मूल्य बढेर आएपछि घाटा थग्न नसक्ने भन्दै नेपाल आयाल निगमले पनि इन्धनको मूल्य बढाउने तयारी गरेको छ । भरखरै भारतबाट बढेर आएको मूल्यका विषयमा आन्तरिक छलफल गरेर निगमले घाटा हेरेर समायोजन गर्ने भएको छ । कर्मचारीका अनुसार आज रातीबाटै नेपाली बजारमा इन्धनको नयाँ मूल्य कायम हुने सम्भावना छ ।

उनले भने,‘भारतबाट इन्धनको मूल्य बढेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)ले निगमलाई इन्धनको भाउ बढाएर पठाएको हो । जसअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ १ पैसा, डिजेल ७ रुपैयाँ ९८ पैसा, मट्टितेल ४ रुपैयाँ ६१ पैसा तथा हवाई इन्धन ७ रुपैयाँ ८० पैसा बढेर आएको छ ।’

भारतबाट इन्धनको मूल्य बढेर आएपछि निगम फेरि घाटामा गएको छ । कर्मचारीका अनुसार आज रातीबाटै नेपालमा मूल्य समायोजन नगर्दा १५ दिनभित्रमा ९ करोड ४१ लाखभन्दा बढि घाटा हुने देखिएको छ । विगत ४ महिनासम्म निगम नाफामा रहँदै आएको थियो । विगतमा परेको घाटाका कारण निगमले सरकारबाट ७ अर्ब ऋण लिएको छ । त्यस्तै आईओसीलाई बुझाउनुपर्ने करिब ११ अर्ब रुपैयाँ बक्यौता छ ।

अन्तर्राष्ट्रिय बजारमा विगत एक महिनामा कच्चा तेलको भाउ प्रतिब्यारेल करिब ८ अमेरिकी डलरले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा बुधबार (१ः२० बजे) ब्रेन्ट कच्चा तेलको भाउ प्रतिब्यारेल ८५, डब्लूटीआईको ७९, मुर्बानको ८४ डलरमाथि कारोबार भइरहेको छ । नेपालमा नयाँ सरकार आएपछि इन्धनको मूल्य घटाइएको थियो । इन्धनको मूल्यमा कालोबजारी गरेको भन्दै निगमका कार्यकारी निर्देशक उमेश थानीबिरुद्ध उजुरीसमेत परेको छ ।

प्रतिक्रिया