राष्ट्रपति बाइडेन निवासमा एफबीआईको सर्च, कारण के हो ?

अमेरिकी राष्ट्रपति जो बाइडेनका वकिलले उनको डेलावेयर स्थित घरमा एफबीआईको खोजी कार्यका क्रममा कुनै महत्वपूर्ण कागजात नभेटिएको बताएका छन् । राष्ट्रपतिको ‘पूर्ण सहयोग’मा ‘योजनाबद्ध’ ढंगले बुधबारको खोजी कार्य सम्पन्न भएको पनि उनले बताए । उक्त खोज अभियान चार घण्टा चलेको थियो । यो सर्च अभियान ओबामा राष्ट्रपति छँदा उपराष्ट्रपति रहेका बाइडेनको कार्यकालका संवेदनशील कागजात सम्बन्धि मामिलामा भैरहेको व्यापक अनुसन्धानको हिस्सा थियो ।
यद्यपि एफबीआईले यस विषयमा अहिलेसम्म कुनै बयान जारी गरेको छैन । वास्तवमा, यो खोजी राष्ट्रपतिको सहमतिमा गरिएको थियो, त्यसैले खोजी वारेन्टको आवश्यकता थिएन । बाइडेनका वकिल बब बउरका अनुसार खोजी अभियानको विवरण पहिले सुरक्षा चिन्ताका कारण सार्वजनिक गरिएको थिएन । बाउरले एफबीआईले कुनै खास कागजात नपाएको तर सन् २००९ देखि २०१७ को अवधिमा केही ’विशेष हस्तलिखित नोट’ फेला परेको बताए जसलाई एफबीआईले ’समीक्षा’का लागि साथमा लिएको छ ।
वासिङ्टनको पेन बिडेन सेन्टरको कार्यालयमा केही संवेदनशील जानकारी भएका कागजातहरू फेला परेका थिए, त्यसपछि धेरै ठाउँमा खोजी गरिएको थियो । डेलावेयरमा राष्ट्रपति बाइडेनको घरको खोजी पनि त्यही अभियानको हिस्सा हो । डिसेम्बर र जनवरीमा बाइडेनको डेलावेयर स्थित निवासमा गरिएको खोजी अभियानमा अनेकौं महत्वपुर्ण कागजात फेला परेका छन् । अहिलेसम्म भेटिएका संवेदनशील कागजातको यकिन संख्या नआए पनि जनवरीमा गरिएको खोजीमा दर्जनौं कागजात फेला परेको बताइएको छ ।
प्रतिक्रिया