सन्दीपलाई थुनामा राख्न माग गरिएको रिटमा भोलि सुनुवाइ

नेपालखोज २०७९ माघ १९ गते १७:११

काठमाडौं । नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई मुद्दा पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदर गर्न मागसहित महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा दिएको निवेदनमाथि भोलि शुक्रबार सुनुवाइ हुने भएको छ ।

मंगलबार सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै दिइएको निवेदनको पेशी शुक्रबार तोकिएको जानकारी आएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सन्जीवराज रेग्मीले बताए ।

गएको पुष २९ मा उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रुपैयाँ धरौटी लिएर शर्तसहित छोडेको थियो । उच्चको आदेश सर्वोच्चको यसअघि यस्तै प्रकृतिका मुद्दामा गरेको फैसला नजिरको विरुद्ध हुने गरी लामिछानेलाई धरौटीमा छोड्नु त्रुटीपूर्ण रहेको महान्यायाधिवक्ता कार्यालयको जिकिर छ ।

नुवाकोट घर भएकी एक नाबालिगमाथि गएको भदौ ५ गते राति काठमाडौंको पिंगलास्थानस्थित एक होटलमा पुर्याएर बलात्कार गरेको आरोप सन्दिपमाथि छ । सो मुद्दामा काठमाडौं जिल्ला अदालतले सन्दिपलाई थुनामा राखेरमा मुद्दाको पुर्पक्ष गर्न दिएको आदेशलाई उच्च अदालतले पाटनले बदर गर्दै धरौटीमा छाडेको थियो ।

प्रतिक्रिया