शुक्रबार, चैत १६, २०८०

के कारणले रोकियो रास्वपा ?

नेपालखोज २०७९ माघ १९ गते २२:०३

काठमाण्डौं । धेरैको अनुमान थियो, आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सरकारबाट बाहिरन्छ । तर त्यो निर्णयमा रास्वपा पुगेन । गुमाएको गृह मन्त्रालयको बार्गेनिङमा फसेको रास्वपाले आज बैठकलाई निर्णायक भनेको थियो । लामो छलफलपछि प्रधानमन्त्रीलाई अझै दुई दिनको समय दिने निर्णय गरेर बैठक सम्पन्न गरेको छ ।

पार्टी सभापति रवि लामिछाने बोल्र्ड डिसिजन गर्ने पक्षमा थिए । पटक पटक बालुवाटार र बालकोट धाएका उनले आफूलाई अभिमन्यू बनाउने अड्कल गरेपछि मौनता आज तोड्ने धम्कीपूर्ण स्टाटस विहिबार दिउँसो अपडेट गरेका थिए । तर उनलाई ३ नेताको फोन कलले सरकारबाट बाहिरिने निर्णय गर्न रोक्यो ।

संसदलीय दल र केन्द्रीय समितिको संयुक्त बैठक चल्दै गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपा सभापति लामिछानेलाई फोन गरेर तत्काल कुनैपनि निर्णय नलिन आग्रह गरेका थिए । उनले २ दिन अझै धैर्य गर्न सुझाएको रास्वपा महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले पुष्टि गरे । ओलिले आज मात्रै विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै गृह मन्त्रालय रास्वपाकै भएको बताएका थिए ।

ओलिको टेलिफोनपछि प्रधानमन्त्री प्रचण्डले फोन गरेको प्रवक्ता ढकालले बताए । सरकार छाड्ने निर्णयले मूलकलाई थप अस्थिरता तर्फ लैजाने भएकाले त्यस्तो निर्णय नलिन सुझाएका थिए । सो कुराकानीमा सभापति लामिछानेले हाम्रो भागको गृह हामीले पाए सरकारबाट बाहिरिन्नौँ भन्ने जवाफ दिएको स्रोतले जनाएको छ ।

बैठक चलिरहकै बेला राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेलले पनि फोन गरेका छन् । उनले रविलाई राष्ट्रपतिको निर्वाचन सम्झाउँदै एउटा मन्त्रालय नपाउँदा सरकार त्याग्दा घाटा हुने बताएका थिए । यी तीन नेताको फोनले सरकार छाड्ने रास्वपा तयारीलाई २ दिन पर्खने निर्णयमा मोडेको छ ।

एमाले रास्वपालाई नै गृह दिन राजी छ । तर प्रधानमन्त्रीले नागरिकता विवाद फैसलाको पूर्ण पाठ नआएसम्म रास्वपालाई गृह दिइहाल्ने सोचमा छैनन् । पार्टी भित्रबाट पनि गृह आफैँले राख्ने दबाबका बीच प्रचण्डले रविको पूर्णपाठको बाहना झिकेका छन् । रास्वपाले सत्ता भागबण्डामा आफ्नो भएको तर प्रधानमन्त्रीले रिक्त गृहका लागि नाम सिफारिस गर्न नभनेको भन्दै गुनासो पोख्दै आएको छ ।

रास्वपा महामन्त्री ढकालले भने, ‘हाम्रो भागमा परेको मन्त्रालयमा कस्लाई पठाउने भन्ने अधिकार पार्टीलाई हुन्छ । त्यसकारण नाम सिफारिसको पत्र आए हामीले नाम दिन्छौँ । गैरसांसद बनेका पार्टी सभापतिलाई बनाउने की अन्य सांसदमध्य भन्ने पत्रकारको जिज्ञासामा ढकालले भने, ‘पार्टीले निर्णय गर्छ ।’ स्रोतका अनुसार गृहमा उपनिर्वाचन जित्ने दाउमा रवि नै दोहोरिने लगभग पक्का देखिन्छ ।

प्रतिक्रिया