बिहीबार, वैशाख २०, २०८१

कहाँ छ ? काँऽ ग्रेऽ रेस

नेपालखोज २०७७ असोज १३ गते १८:४९

सात सालतिर मट्याङ्ग्रोलाई धारे हात लगाउँदै गाउँले भन्थे तेराँ घराँ काँऽ ग्रेऽ रेस पसोस् । बीचाँ बाउन्न सालतिर आएर फेरी गाउँलेहरुले भैसीले पाटो बारीको कोदो खायो भनेर धारे हात लगाउँदै भन्न थाले तेराँ घराँ माउवादी पसोस् । विचरा मट्याङ्ग्रो सातसालदेखि बाउन्न सालसम्म आईपुग्दा बाउन्न घुस्सा त्रिपन्न ठक्कर खाँदै सतहत्तरमा आईपुग्यो ।

वीचमा पहाडाँ भात खान पाईएन भन्दै मन्सुलीको भात ख्वाउन बाउले तराई झारे । मन्सुलीको सेतो चामलको भात खाँदै तराईलाई उर्वर बनाउन ठाडो टुप्पी लगाउँदै खेती गर्दै त्यहाँ रहेका पीडितहरुको पक्षमा बोल्दै शिक्षा दिन थालेको मट्याङग्रो त्यहाँबाट पनि वैसठ्ठीतिर लखेटियो । अहिले सत्तरी बर्षको बुढो भईसक्दा पनि उस्तै धारेहात लगाउनेहरु हटेनन् ।

बा ऽ ले भन्थे सवै काम गर्नु झुटो कुरा बोल्दै नबोल्नु, दरबार नपस्नु, खरानी नधस्नु । बाले भनेको कुरा पनि ठिकै हो, सात सालमा बा सत्तरी बर्षका थे । टुँडिखेलबाट देखिने एउटै मात्र दरबार थियो र दरबार नपस्नु भन्थे । तर के गर्नु छयालीस सालपछि दरबारको संख्या बढ्न थाल्यो । दरबार नछिरी नहुने भो । कहिले सानेपा दरबार, कहिले बल्खु दरबार, कहिले सिंहदरबारतिर लागियो ।

कुनै दरबारले पनि मट्याङ्ग्रोको सपना पूरा गर्न सकेनन् । बरु हजारौ मट्याङ्ग्रोहरु सडकमा आए टाउको फुटाए र अहिले दुवई कतारतिर धाईरहेका छन् । बाउन्न सालदेखि त्रिसठ्ठी सालसम्म गाउँका शहर झरे, शहरका विदेश पसे, बसी खान दिएनन् । अहिले विदेशका उतै बसे । गाउँ त के भन्नु जताततै नगर – शहरदेखि सिंहदरबारसम्म बाउन्नेहरुले घेरेका छन् । जनताले बनाको संविधान भन्दै साँढे सात दर्जन नेताका लोग्ने स्वास्नीले संसद भरे । दुई तिहाईको सरकार भन्दै अहिले त तेराँ घराँ दुई तिहाई पसोस् भन्दै मट्याङ्ग्रोलाई धारे हात होइन धारे खुकुरी नै ताक्न थालेका छन् ।

विचरा बबुरो मट्याङ्ग्रो ‘खाउँ भने दिनभरको शिकार नखाउँ भने कान्छा बाउको अनुहार’ जस्तै भएको छ । संघीऽ यता न उता ल्याएपछि कर तिर्दैमा व्यस्त छ । हाँछ्यु गरेदेखि खोकेको समेत कर तिर्नुपर्ने वाध्यता छ । पहिले पहिले त सरकारले जनतालाई ढुङ्गाले किचे जसरी थिचोमिचो गर्दा प्रतिपक्ष दले हुन्थे अहिले त त्यही पनि छैन ।

‘काले काले मिलेर खाउँ भाले’ भने जस्तै छ । खै काँ ऽ ग्रेऽ रेस भन्ने पार्टी थियो र सातसालतिर निकै उग्र । रेस खेलिरहन्थ्यो रे ! अहिले त विचरा सत्तरी वर्षको मट्याङ्ग्रो जस्तै बुढो भएछ । कहाँ छ कहाँ ? दमले पनि छोयो होला, मधुमेह पनि लाग्यो होला विषादी भएको डलर खाएपछि कुन्नी के के जाती रोग पनि लाग्या हुन सक्छ । त्यही भएर अहिले बोल्नै नसक्ने भाको छ रे ।

हुन पनि हो । साठी वर्षमा युवापुस्ताको नामाकरण काँ ऽ ग्रे ऽ रेस हुने । अहिले भित्रभित्रै रेस खेल्दै छन् अरे । त्यही भएर दुई तिहाईले देखाईरहेको गाईजात्रामा रमाईरहेको छ । बाउन्न सालमा त्रिपन्न वन्दुक पड्काएर पचास लाखको टाउकोको मूल्य तोक्नेहरु आज आफ्नै मुल्य तोक्न थालेका छन् । त्यसैले होला गाउँमा अचेल मट्याङ्ग्रोलाई फेरि पनि भन्दै छन् कहाँ छ ? काँ ऽ ग्रेऽ रेस ।

मट्याङ्ग्रो विचरालाई के थाहाँ तै काँऽ गे्रऽ रेसका कार्जेकर्तालाई त थाहा छैन होला कहाँ छ भनेर त्यसै सोधेर हुन्छ ? सात सालमा पो उग्र थिथो, रगत तातो तातो थियो । हवाइजहाज कब्जा पनि गरेकै हो । काण्डैकाण्ड मच्चाको पनि हो । तर, सत्तरी वर्षपछि त्यही सातसालको जोश खोजेर हुन्छ । विचरा गिर्जाउको बिँडो थाम्न खोज्ने देउऽ वा मागिरहेका छन् । फेरी पनि चाहियो । उनलाई उनका बाले मट्याङ्ग्रोको बाले जस्तै दरबार नपस्नु खरानी नधस्नु भन्या थे रे ! के गर्नु बर्बराउँदै दरबार पनि पसे, दरबार पनि बनाए । तर, रेसमा बसेनन् र पसेनन् । डडेल्धुराबाट नारानथान पुग्दा दरबार देखियो काँ ऽ ग्रेऽ रेस हरायो ।

ठिकै छ ! संघी ऽ यता न उता भएको बेलाँ काँ ऽ ग्रेऽ रेस कहाँ छ भनेर खोज्नु कार्जेकर्तालागि नयाँ अनुसन्धान पनि हो । जनता मट्याङ्ग्रालाई जुनसुकै रेसले पनि काम नलाग्ने भएकाले होला मौन छन् र भनिरहेका छन् कहाँ छ काँ ऽ ग्रेऽ रेस ।

प्रतिक्रिया