शुक्रबार, वैशाख १४, २०८१

भियतनाममा कफी महोत्सव हुँदै

नेपालखोज २०७९ माघ २२ गते ७:१६

एजेन्सी । भियतनाममा मार्च महिनामा कफी महोत्सवको आयोजना गरिँदै छ । आगामी मार्च १० देखि १४ सम्म डाकलाक प्रदेशमा कफी महोत्सव हुँदैछ ।

द बुआनमा थाट कफी महोत्सव नाम दिइएको उक्त महोत्सवमा विभिन्न प्रकारका कफी उत्पादन र यससँग सम्बन्धित कफी संस्कृतिको बारेमा प्रदर्शनी गरिने बताइएको छ । यहाँ आयोजना गरिन लागिएको यस प्रकारको यो आठौँ कफी महोत्सव हो । भियतनाम न्युज एजेन्सीले जनाएअनुसार सो अवसरमा कफी उत्पादन, प्रशोधन र उपभोग संस्कतिको विकास र संबर्धन गर्ने उद्देश्यले कफी गोष्ठीको पनि आयोजना गर्न लागिएको हो ।

भियतनामलाई कफीको अन्तरराष्ट्रिय केन्द्रकोरूपमा चिनाउँन र विकास गर्न यस किसिमको महोत्सवले सहयोग पुग्ने उक्त प्रदेशका जनसमितिका उपाध्यक्ष ह्मि क्दोहले बताएका छन् । डाकलाक क्षेत्रमा दुई लाख १० हजार हेक्टर क्षेत्रफलमा कफी खेति गरिन्छ जहाबाट पाँच लाख २० हजार टनभन्दा बढी कफी उत्पादन हुने गर्छ ।

धान–चामलपछि भियतनामको प्रमुख निर्यात हुने बाली कफी हो । सन् २०२२ मा भियतनामले १६ लाख आठ हजार टन कफी निर्यात गरेको थियो जसबाट ३.९ बिलियन अमेरिकी डलर भित्र्याएको थियो ।

प्रतिक्रिया