बुधबार, वैशाख १२, २०८१

सकियो नाटक महोत्सव

नेपालखोज २०७९ माघ २२ गते ९:१३

पोखरा । पोखरा थिएटरको आयोजनामा भएको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव सकिएको छ । यही माघ १४ गते सुरु भएको महोत्सव शनिबार अतिथि नाटकका रूपमा धुमधामको घुमघाम मञ्चनसहित समापन भएको हो । महोत्सवमा प्रदर्शन गरिएको नाटकले विद्यार्थी, शिक्षकसहित आम नाटकप्रेमीको ध्यान तान्न सफल भएको आयोजक पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए ।

शनिबारसम्म पाँच हजार दर्शकले पोखरा थिएटरको गन्धर्व नाटकघरमा पुगेर नाटक हेरेको अध्यक्ष परिवर्तनले बताए । “महोत्सव सकिँदासम्म झण्डै पाँच हजार दर्शकले महोत्सवमा नाटक हेर्नुभयो हामीले अपेक्षा गरेभन्दा बढी सफलता पाइरहेका छौँ”, उनले भने । नाटक हेर्न आउने दर्शकले दिएको प्रतिक्रिया आगामी दिनमा नाटक गर्नका लागि उत्साह थपेको संस्थापक अध्यक्ष दिलप्रसाद गुरुङले बताए ।

‘नाटक महोत्सव एकदम राम्रो भइरहेको छ । सकारात्मक प्रतिक्रिया पाएका छौँ । हामीमा उत्साह थपिएको छ’, संस्थापक अध्यक्ष गुरुङले भने । महोत्सवमा गण्डकी प्रदेशभरका विद्यालयबाट २० वटा नाटक प्रस्तुत भएका थिए । अन्तिम दिन अतिथि नाटकका रुपमा धुमधामको घुमघाम मञ्चन भएको हो । नाटक मञ्चन गरेका प्रत्येक विद्यालयलाई प्रोत्साहनस्वरुप रु १०–१० हजार प्रदान गरिएको अध्यक्ष परिवर्तनले जानकारी दिए ।

वरिष्ठ कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा बनेको छनोट समितिले नाटक छनोट गरेको हो । छनोट समितिको सदस्यमा कलाकार तथा निर्देशक माओत्से गुरुङ र कलाकार प्रमिला तुलाचन रहनुभएको थियो । महोत्सवका लागि कुल २९ वटा नाटकको स्क्रिप्ट छनोट समितिसम्म पुगेको थियो । तीमध्ये १९ वटा नाटक छनोट गरेर महोत्सवमा मञ्चन गरिएको नाटक छनोट समितिका संयोजक तथा कलाकार प्रकाश घिमिरेले बताए । पछिल्ला समय विद्यालयले नाटकको महत्व बुझ्दै गएकोे संयोजक घिमिरेले बताए ।

‘पछिल्लो समयमा नाटकमा विद्यालयको निकै चासो बढेको छ । त्यसैले होला यो पटक २९ विद्यालयले स्क्रिप्ट पठाएका थिए’, उनले भने, ‘यो पटक १०–१२ मात्र राख्ने कि भन्ने थियो तर सबै स्क्रिप्ट राम्रा भएकाले २० छनोट गरेर मञ्चन भएका हुन् ।’ यसरी नाटकको विद्यालयस्तरमा महत्व बढ्दै गएकाले अबको केही वर्षमा गण्डकी प्रदेश नाट्य क्षेत्रमा अब्बल हुने उहाँको आकलन छ ।

गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, राइट फर चिल्ड्रेनको सहकार्यमा महोत्सव भएको हो । यस अगाडि दुई संस्करणको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव गरिसकेको पोखरा थिएटरले पोखरा महानगरपालिकास्तरीय नाटक महोत्सवसमेत आयोजना गरेको थियो । रासस

प्रतिक्रिया