शनिबार, वैशाख २९, २०८१

विवश पोखरेलका ५ मुक्तक

विवश पोखरेल २०७९ असार २५ गते ९:२९

१ . पराजय
क्रूर समयसँग अहिले, मुस्कान हारेको छ
उज्यालो बोकेर आउने, बिहान हारेको छ
शून्य शून्य छ मन्दिर, उदास छन् भक्तहरू
सर्वत्र व्याप्त छ निराशा, भगवान् हारेको छ ।

२ . भ्रम
भ्रमभित्र पनि सत्य, देख्नेहरू धेरै हुन्छन्
रोइरहेका फूलका कथा, लेख्नेहरू धेरै हुन्छन्
सडकझैं चुपचाप सह्यौं भने यातनाको डाम
कोमल छातीमा निर्मम, टेक्नेहरू धेरै हुन्छन् ।

३ . अस्वस्थता
चुल्हो बिरामी छ यहाँ, थाल बिरामी छ
असुरक्षित छन् ओतहरू, त्रिपाल बिरामी छ
एउटा अभिशप्त समय, भोगिरहेका छौं हामी
आइसीयूमा छ वर्तमान, अस्पताल बिरामी छ !

४ . सम्बन्ध
बतासझैँ आउने यादहरू,
किन कतै छोडेर बाँचू ? लाग्छ,
खुसी फुल्ने बगैंचाका, काँडाहरू
गोडेर बाँचू नदुखाऊँ भन्दा भन्दै पनि,
दुख्छ कसैको मन भने
यी दुख्ने दुखाउने सम्बन्ध
कतिन्जेल जोडेर बाँचू ???

५ . राजनीति
कोही सानोबाट छिर्छन्,
कोही ठूलोबाट छिर्छन्
सक्नेजति खोलाबाट,
नसक्ने कुलोबाट छिर्छन्
काइँला दाइ, मन नदुखाऊ,
राजनीतिमा यस्तै हो कोही ढोकाबाट छिर्छन्,
कोही दुलोबाट छिर्छन् ।
-विराटनगर

प्रतिक्रिया