राष्ट्रपतिमा क-कस्काे नाम चर्चामा ?

काठमाण्डौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति निर्वाचनको चर्चामा देशको राजनीति केन्द्रित हुँदै गएको छ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको लागि आगामी फागुन २५ गतेको दिन निर्धारण गरिसकेको छ ।
राष्ट्रपति निर्वाचनमा संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरू तथा सातै प्रदेशका प्रदेश सभाका सदस्यहरू मतदाता रहन्छन् । तर संघीय संसदका सदस्य र प्रदेश सभाका सदस्यको मतभार भने फरक फरक हुन्छ ।
निर्वाचन नजिककिंदै गएपछि सम्भावित उम्मेदवारहरूको बारेमा पनि चर्चा परिचर्चा सुरु भएका छन्। सत्तारुढ दलहरूको गठबन्धन यस चुनावमा एकताबद्ध भएर प्रस्तुत हुने संभावना पनि क्षिण हुँदै गएको छ भने नेपाली कांग्रेसले यही चुनाव मार्फत राष्ट्रिय राजनीतिको अहिलेको समिकरणलाई बदल्ने रणनीति लिएको छ । उच्चस्तरीय राजनीतिक सुत्र अनुसार राष्ट्रपति चुनावको लागि यस अगाडि चर्चामा आएका नामहरू भन्दा फरक तर राष्ट्रिय रुपमा स्थापित एक व्यक्तित्वको नाममा नेपाली कांग्रेस र नेकपा माओवादी बीच सहमति हुने अवस्था बनेको छ ।
सो सुत्र अनुसार भावी राष्ट्रपतिमा नेपालको लोकतान्त्रिक आन्दोलनका एक मूर्धन्य व्यक्तित्व एवं पूर्व सभामुख दमननाथ ढुंगानाको नाममा कांग्रेस र माओवादी नेताहरू बीच छलफल भैरहेको र कांग्रेसले ढुंगानाको नाम प्रस्तावित गरेमा माओवादीले सहजै स्वीकार गर्ने संकेत दिएको छ ।
यसैगरी कांग्रेसको तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको नाम पनि संभावित उम्मेदवारको रुपमा चर्चामा छ । कांग्रेस सभापति शेरबहादुर देउवा स्वयंले ती २ नामलाई चर्चामा ल्याएपछि पौडेल र सिटौला मध्ये कस्लाई बनाउने भनेर कांग्रेस भित्र बहस चलिरहेको छ ।
प्रधानमन्त्री प्रचण्ड र नेकपा एसका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव नेपाल दुवैको पहिलो रोजाइमा भने वरिष्ठ नेता पौडेल नै छन् । तर नेकपा माओवादी भित्रको बहसले कांग्रेसको कोर नेतालाई भन्दा राष्ट्रिय छबि भएको र २०६२–६३ को परिवर्तनलाई दीगो बनाउन सक्ने व्यक्तित्वको खोजी गरेकोले माओवादी भित्रैबाट ढुंगानाको नाममा चर्चा सुरु भएको हो ।
माओवादी भित्र डा.बाबुराम भट्टराईलाई पनि राष्ट्रपति उम्मेदवारका रुपमा चर्चा गरिने गरिएको छ । सकेसम्म डा.भट्टराईलाई नै अगाडि बढाउन नसके स्वतन्त्र व्यक्तित्वको नाममा सहमति बनाउन सहज हुने भएकोले ढुंगानाको नाम अगाडि आएको हो ।
राष्ट्रपतिको संभावित उम्मेदवारको रुपमा पूर्व प्रधान न्यायधिशहरू खिलराज रेग्मी र कल्याण श्रेष्ठको नामपनि केहि अगाडिसम्म चर्चामा आएको थियो। तर अहिले दलहरू राजनीतिक व्यक्तित्व नै राष्ट्रपति हुनु पर्ने धारणामा पुगेकोले रेग्मी र श्रेष्ठको नाम अहिले छलफलमा छैन ।
पूर्व सभामुख एवं नेपालको नागरिक आन्दोलनका शीर्ष व्यक्तित्व दमननाथ ढुंगानालाई यो चर्चाबारे प्रश्न राख्दा उनले आफुसमक्ष हालसम्म त्यस्तो प्रस्ताव नआएको जवाफ दिएका छन् । राष्ट्रपतिको उम्मेदवार बन्नेबारे दलहरूबाट प्रस्ताव आइनसकेकोले बहसबारे आफुले कुनै धारणा नबनाएको पनि उनले स्पष्ट पारे ।
वर्तमान संविधानको रक्षा र त्यसको कार्यान्वयनका लागि राष्ट्रपति संस्थाको रणनीतिक भूमिका बढेर गएको तथा नेपालको भूराजनीतिक जटिलता पनि बढेकोले यो बेला राष्ट्रपति संस्थाको गरिमा अझ गहन हुनुपर्ने महशुस गरिएको तथा मानव अधिकार र लोकतन्त्रको मामिलामा नेपालको अन्तर्राष्ट्रिय छवि खस्केको हुनाले सोलाई उठाउन पनि राष्ट्रपतिमा मुलुक र संसारले चिनेको र नेपालको शान्ति प्रक्रियाको चुरो बुझेको व्यक्तित्वको रुपमा ढुंगाना राष्ट्रपतिको रुपमा रोजाईमा पर्नु भएको सुत्रको तर्क छ ।
ढुंगाना नेपालमा संविधान सभाको निर्वाचनको मिलन बिन्दुमा तत्कालिन माओवादी र मूलधारका राजनीतिक दलहरूलाई ल्याउन सफल नागरिक अगुवा हुन् । साथै २०६२÷६३ को जनआन्दोलनका एक प्रमुख नागरिक अगुवाको भूमिका उहाँले खेल्नु भएको थियो । उनी २०४६ चैतमा प्रजातन्त्र पुर्नस्थापना पछि र २०४८ बैशाखमा सपन्न आम निर्वाचन पछि निर्वाचित सभामुख पनि हुन् । श्रोतः आइएनएस–स्वतन्त्र समाचार
प्रतिक्रिया