बिहीबार, चैत १५, २०८०

टर्की भूकम्प अपडेट: १ सय ४३ जनाकाे मृत्यु

नेपालखोज २०७९ माघ २३ गते १३:१६

एजेन्सी । टर्कीमा साेमबार बिहान गएको ७ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेकाे संख्या निरन्तर रूपमा बढिरहेको छ ।

अहिलेसम्म सिरियामा ९० र टर्कीमा ५३ गरी १ स ४३ जना भन्दा बढीको मृत्यु भएको पुष्टि भएको हाे । टर्कीको मलत्या शहरमा २३ जना, सानल्युर्फामा १७ जना, दियारबाकिरमा ६ जना र ओस्मानियामा ५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

त्यस्तै सिरियामा ९० जनाको मृत्यु भएको पुष्टि भएको छ । दुवै देशमा भौतिक संरचनामा ब्यापक रूपमा क्षति पुगेकाले भत्किएका संरचनामा सयौं च्यापिएको अनुमान गरिएको छ । मानिसहरु सुतिरहेको बेला भूकम्प गएकाले मृतक संख्या अनुमान भन्दा बढी हुन सक्ने त्यहाँका अधिकारीहरुले बताएका छन् ।

स्थानीय समय अनुसार साेमबार बिहान ४ बजेर १७ मिनेट जाँदा दक्षिणी टर्कीको गजियटेप प्रान्तको नुर्दगी भन्ने स्थानमा शक्तिशाली भूकम्प गएको थियो । पहिलो झड्का लगत्तै ६ रेक्टर स्केल भन्दा माथिका थुप्रै पराकम्पकाे महसुश भएको टर्कीको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । अमेरिकी भू-गर्भ विभागले १७ दशमलव ९ किलोमिटर गहिराइबाट भूकम्प गएको जनाएको छ ।

भूकम्पको धक्का जोर्डन, साइप्रस, ग्रीस, लेबनान, इराक, इरान, जर्जिया, बेलायत र अमेरिकासम्म महसुश भएको जनाइएकाे छ । घटनाको विस्तृत विवरण भने आउन बाँंकी रहेकाे छ । यसैबीच, टर्की सरकारले भूकम्पपछिको उद्धार र ब्यवस्थापनका लागि राष्ट्रिय संकटकाल घोषणा गरेको छ ।

प्रतिक्रिया