शनिबार, वैशाख ८, २०८१

एमालेबाट माओवादी हुँदै राष्ट्रिय सभा उपाध्यक्षसम्म

नेपालखोज २०७९ माघ २३ गते २०:१६

काठमाण्डौं । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी सांसद उर्मिला अर्याल निर्विरोध निर्वाचित बनिन् । उनी नेकपा एमालेबाट नेकपा माओवादी केन्द्र हुँदै राष्ट्रिय सभा उपाध्यक्षसम्मको यात्रा तय गरेकी छिन् ।

पर्साको वीरगन्ज महानगरपालिका– २३ निवासी उनी ०२६ मा अनेरास्ववियुको सदस्यता लिई विद्यार्थी राजनीतिमा प्रवेश गरेकी थिइन् । ०३५ मा कम्युनिस्ट पार्टीको संगठित सदस्यता पाइन् । ०४६ मा एमालेमा प्रवेश गरेर उनी ०५० मा पर्सा जिल्ला कमिटी सदस्यमा निर्वाचित भएकी थिइन् ।

०४८, ०५१ र ०५६ मा पर्सा ४ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लडेपनि ०५६ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइन् । ०५९ माघको सातौँ महाधिवेशनबाट एमालेको वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित अर्याल ०६३ मा महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री बनेकी उनी ०६५ मा बुटवलमा सम्पन्न आठौँ महाधिवेशनबाट एमाले केन्द्रीय सदस्य तथा पोलिटब्युरो सदस्यमा निर्वाचित भइन् ।

अर्याल ०६७ मा स्थानीय विकासमन्त्री बनेकी थिइन् । उनी ४ जेठ ०७० मा तत्कालीन एकीकृत माओवादीमा प्रवेश गरिन् । हाल माओवादी स्थायी कमिटी सदस्य अर्याल १२ माघ ०७८ राष्ट्रिय सभा सदस्यमा निर्वाचित बनेकी थिइन् । अर्यालले समाजशास्त्रमा स्नातकोत्तर गरेकी छिन् ।

प्रतिक्रिया