टर्की भूकम्पमा मृतकको संख्या ४३ सय नाघ्यो

काठमाडौं । टर्कीमा सोमबार बिहान गएको ७.८ म्याग्निच्युडको शक्तिकाली भूकम्पका कारण मृत्यु हुनेको संख्या ४ हजार ३ सय नाघेको छ । यो संख्या सिरियामा भएको मानवीय क्षति विवरणसहित हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार टर्कीको गाजियनटेप सहर केन्द्रबिन्दु भएर भूकम्पका कारण टर्की र छिमेकी देश सिरियामा गरी ४ हजार ३ सयभन्दा बढी जनाको मृत्यु भएको हो ।
सोमबार टर्कीमा १२ घण्टाभित्र ७.८, ७.६ र ६.० म्याग्निच्युडका ठूलो भूकम्प गएको थियो । यसबाट सबैभन्दा धेरै मानवीय र भौतिक क्षति टर्की र यसको छिमेकी देश सिरियामा भएको छ ।
टर्कीमा मात्र हालसम्म २ हजार ९ सय २१ जनाको मृत्यु भएको छ भने १५ हजारभन्दा बढी जना घाइते भएका छन् । टर्कीका दक्षिणपूर्वी सहरहरूमा ३ हजार ५ सयभन्दा बढी भवन ध्वस्त भएको बताइएको छ ।
उता विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले भने टर्की भूकम्पका कारण मृत्यु हुनेको संख्या ८ गुणा बढ्न सक्ने जनाएको छ ।
प्रतिक्रिया