शुक्रबार, वैशाख ७, २०८१

दिपक शर्मा भन्छन्, ‘फिल्म प्रमोसनकै लागि गीत माग्ने चलन छ’ (भिडियो)

शिखर गजरकोटे २०७९ माघ २४ गते १४:२१

काठमाण्डौं । ४ बर्ष अघि सार्वजनिक गरिएको गीत ‘पिरम नलाउने’ले युटुवमा १० करोड भ्यूज बटुलेको छ । दिपक शर्माको शब्द संगीतमा तयार भएको उक्त गीतमा मेलिना राई र आशिष गौतम (सचिन)को स्वर रेकर्ड छ । संगीतकार शर्माको सफलता यो गीतमा मात्रै सिमित छैन् ।

आगामी फागुन १९ मा रिलिज हुने छक्का पञ्जा ४ को ‘दर्शन सलाम’ले पनि वर्तमान बजार पिटिरहेको छ । एक हप्ताको अवधिमा २१ लाख भन्दा बढि पटक हेरिएको छ । राजेन्द्र थापाको शब्द लेखनमा डेविट शंकर र सहिमा श्रेष्ठको स्वरमा रेकर्ड गीतलाई दर्शक स्रोताले औधि मन पराएका छन् । गीतको अंश टिकटकमय बनेको छ ।

दिपक शर्मा तिनै संगीतकार हुन्, जस्ले छक्का पञ्जा २ र ३ मा पनि हिट संगीत दिएका थिए । चाहे ‘पहिलो नम्बरमा’ होस्, चाहे ‘देख न चम्मा’ । शर्माले संगीत दिएको गीत लगातार तीन सिरिजमा हिट ठहरिएको छ । गीतले दर्शकको माया बटुलेकोमा मख्ख शर्मा यो सफलता लगनशीलता र धैर्यताको उपज मान्छन् । उनले भने, ‘सुरुवातिका बर्षमै हार मानेर क्षेत्र परिर्वतन गरेको भए अहिले कहाँ सफलताको स्वाद चाख्न पाउँथे र ?’

२०४२ सालमा म्याग्दीमा जन्मे हुर्केका उनी दुई दशक देखि अनवरत संघर्षरत छन् । गाउँघरमा रेडियो सुनेकै भरमा गीतसंगीत तर्फ आकर्षित उनलाई एसएलसीपछि काठमाण्डौं ल्यायो । यद्यपि, उनी कक्षा ५ मा पढ्दा कविता प्रतियोगीतामा जिल्लासम्म पुगेको स्मरण गर्छन् । ‘म सानैदेखि लेखनमा रुची राख्थे । त्यो केले पनि पुष्टि गर्छ भने कविता प्रतियोगीतामा विद्यालयमा प्रथम भएर जिल्लासम्म पुगेको छु ।’ उनी थप्छन्, ‘ माध्यमिक तहमा पढ्दै गर्दा गाउँघर र विद्यालयमा आयोजना हुने गायन प्रतियोगीतामा भाग लिन्थे । साथीभाइले गीत बनाउने जिम्मा दिन्थे । म कोशिस गर्थे ।’

२०५९ सालमा एसएलसी दिएका शर्मा २०६० सालमा काठमाण्डौं आए । होटलमा काम गर्दै संगीत कर्म थालेका तहल्का डटकम, तेजावबाट फिल्मी संगीत यात्रा सुरु गरेका हुन् । ‘सफलता हात नमिले पनि तत्कालिन रुपमा थोरै पारिश्रमिक र आशा मिलेको थियो ।’उनले भने । केही बर्षपछि पूर्णकालिन रुपमा संगीतमा लागेका उनी अहिले स्थापित छन् ।

शर्मा आधुनिक गीतमा पनि उत्तिकै सफल मानिन्छन् । उनका ‘जीन्दगीकै सवाल हुन्छ’, ‘रुँदै हुन्छौ’, ‘सबैले मलाई घृणा गर्दै’, ‘छुट्टिएर तिमिसँग’जस्ता हिट गीत हुन् । फिल्ममा त एक पछि अर्को हिट संगीत दिएका शर्मा अहिले निकै व्यस्त छन् । ‘दर्शन सलाम’हिट हुँदै गर्दा उनले सोमबार मात्रै दिपक श्रेष्ठ निर्देशित र दयाहाङ राई अभिनित चलचित्रको एउटा गीत निर्माणको सम्झौता गरेका छन् । उनले भने, ‘गीत रेडि छ, अब तुरुन्तै रेकर्डिङमा जान्छ ।’

चाहे ‘पर्ख पर्ख मायालु’(मंगलम), चाहे तिम्रो पिक्चर हिट (किस्मत २) होस् । आँधीखोला (सम्झिराख है) र तिम्रा डोला डोला आँखा (हवल्दार सुन्तली) उत्तिकै हिट छन् । ‘बालखैमा दिल बस्यो गौथली’बालबालिकाको ओठमै झुण्डिएको छ । दबाब र अभाव झेलेर सफल संगीतकारको छवि बनाएका शर्मा भन्छन्, ‘अहिले मलाई कुनै दुख छैन् । खुसी छु । सन्तुष्ट छु ।’

फिल्ममा गीत प्रयोगको ट्रेन कस्तो छ ? भन्ने नेपालखोजको प्रश्नमा शर्माले भने, ‘अहिले फिल्म प्रमोसनको लागि सहयोगी हुने गीत खोज्ने र माग्ने चलन बढेको छ । जुन गीतले दर्शकलाई हलसम्म आकर्षित गरोस् ।’

भिडियो

प्रतिक्रिया