६ महिनामा चार सय ३५ उद्योग दर्ता

दमौली । चालू आर्थिक वर्षको छ महिनामा तनहुँमा चार सय ३५ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा आव ०७९/८० को छ महिनाको अवधिमा चार सय ३५ उद्योग दर्ता भएका हुन् ।
सो अवधिमा सेवामूलक, उत्पादनमूलक, कृषि तथा वन वातावरण, पर्यटन उद्योग दर्ता भएको कार्यालय प्रमुख अविनाश कुँवरले जानकारी दिनुभयो । तीमध्ये ३४ उत्पादनमूलक, दुई सय ६७ कृषि तथा वन पैदावर, एक पूर्वाधार, ७० पर्यटन, एक सूचना प्रविधि र ६२ सेवामूलक उद्योग दर्ता भएका हुन् ।
जिल्लामा कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्ता बढेको उनको भनाइ थियो । ‘वैदेशिक रोजगारीबाट फर्किएका युवाहरु पशुपालनतर्फ आकर्षित भएका छन्’, प्रमुख कुँवरले भने, ‘यसले गर्दा कृषि तथा वन पैदावरमा आधारित उद्योगको दर्ता बढाएको छ ।’ कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन र तरकारी खेतीतर्फ आकर्षण बढ्दो छ । वाणिज्यतर्फ सोही अवधिमा दुई सय ९२ नयाँ व्यवसाय दर्ता भएका छन् ।
आर्थिक वर्ष ०७८/७९ मा जिल्लामा पाँच सय ७९ उद्योग दर्ता भएका थिए । यसैगरी आव ०७७/७८ मा दुई हजार एक र ०७६/७७ मा तीन हजार पाँच सय १५ उद्योग थपिएको थियो । उक्त कार्यालयले गत आर्थिक वर्षमा जिल्लाका एक सय ६२ फार्म खारेज गरेको थियो । सञ्चालनमा नरहेका र खारेजका लागि निवेदन परेपछि ती फार्म खारेज गरेको कार्यालयले जनाएको छ ।
रु एक लाखसम्म पूँजी भएको उद्योगले रु एक हजार एक सय, तीन लाखसम्म पूँजी भएको उद्योगले रु तीन हजार एक सय, पाँच लाख रुपैयाँसम्म पूँजी भएको उद्योगले ६ हजार एक सय, ५० लाख रुपैयाँ सम्म पूँजी भएको उद्योगले १२ हजार एक सय रुपैयाँ, रु एक करोडसम्म पूँजी भएको उद्योगले २० हजार एक सय रुपैयाँ, पाँच करोड रुपैयाँसम्म पूँजी भएको उद्योगले ३० हजार एक सय रुपैयाँ र पाँच करोड रुपैयाँभन्दा माथि पूँजी भएको उद्योगले ५० हजार एक सय रुपैयाँ १० दर्ताबापत शुल्क बुझाउनुपर्छ ।

प्रतिक्रिया