आर्थिक उत्थानका लागि सबैको सहकार्य आवश्यक छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको आर्थिक उत्थानका लागि सबै सहकार्य आवश्यक रहने बताएकी छन् । उनले सम्बद्ध पक्षको ध्यान विकास, संवृद्धि र नागरिकलाई सुखी बनाउन ध्यान केन्द्रित हुनुपर्ने बताएकी छन् । शुक्रबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले देशको राजनीतिले गति र लय समातेकाले अबको ध्यान आर्थिक उत्थानतिर केन्द्रित हुनुपर्ने बताइन् ।
भण्डारीले अर्थतन्त्रको सुदृढीकरणमा गम्भीर पाइला चाल्न आवश्यक भइसकेको बताइन् । उनले आर्थिक अवस्था जटिल मोडमा अर्थतन्त्रका सूचकहरुमा सुधारको संकेत देखिएपनि यसको दिगोपनामा आस्वस्त भइहाल्ने अवस्था नरहेको बताइन् । मौद्रिक तरलताको समस्या, लगानीका लागि यथेस्ट स्रोतको अभाव र बाह्य कारणले समेत गर्दा उत्पादन क्षेत्र मजबुत हुन नसकेको उनले बताइन् ।
अर्थतन्त्रको कतिपय समस्या उतारचणवपूर्ण विश्व अर्थतन्त्र, कोभिड महामारीका कारणबाट पनि सिर्जित भएको भन्दै राष्ट्रपति भण्डारीले अघि भनिन्, ‘यथापि यिनीलाई कारण देखाएर पन्छिने सुविधा हामीलाई छैन ।’ उनले अर्थतन्त्रमा प्रभाव पार्ने आन्तरिक बाह्य कारणको समग्र अध्ययन गरेर सरकारको वृत्त नीतिमा संरचनागत सुधार गर्नुपर्ने आवश्यक औंल्याइन् ।
विकास निर्माणले गति लिए पनि त्यो पर्याप्त छ कि छैन भन्ने विषयलाई हेर्नुपर्ने उनको भनाइ छ । संघ तथा प्रदेशसरकारले आफ्नो समग्र ध्यान मुलुकको हितका लागि केन्द्रित गर्नुपर्ने राष्ट्रपति भण्डारीको भनाइ छ । संघ तथा प्रदेश सरकारले आफ्नो समग्र ध्यान मुलुकको हितका लागि केन्द्रित गरी जनताका आशा, विश्वास र भरोसा सम्बोधन हुने गरी कार्य सम्पादन गर्नेछन् भन्ने विश्वास आफुले लिएको बताइन् ।
प्रतिक्रिया