प्रतिनिधिसभाबाट धन्यवाद प्रस्ताव पारित

काठमाडाैं । प्रतिनिधिसभा बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको सम्बोधनका लागि धन्यवादको प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राखेकाे उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिद्वारा सङ्घीय संसद्को पहिलो अधिवेशनको दुवै सदनको संयुक्त बैठकलाई गरिएको सम्बोधनको प्रति टेबल गरेका थिए ।
बैठकमा सभामुख घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । बैठकले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको सात दिन समयावधि थप गरेको छ । समितिका जेष्ठ सदस्य चित्रबहादुर केसीले समितिको समयको थप माग गरेका थिए ।
सो अवसरमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले विभिन्न तीन विधेयक टेबुल गरे । ‘अनुगमन तथा मुल्याङ्कन विधेयक, २०७६’ ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७’ र ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल भएको हो । प्रतिनिधिसभाको अर्को बैठक यही माघ २९ गते आइतबार दिनको ३ बजे बस्नेछ ।
प्रतिक्रिया