भूकम्पपछि भग्नावशेष मुनि कति दिन जिबित रहन्छ मानिस ?

टर्कि र सिरियामा गएको भुकम्पमा परेर हजारौं मानिस बेपत्ता छन् । ती मानिसहरु भग्नावशेष मुनि दबिएका छन् । उनीहरुको उद्धारका लागि विभिन्न समुह दिनरात खटिएका छन् । सम्बद्ध अधिकारीहरू के मान्छन भने उनीहरू समयको विरुद्ध काम गरिरहेका छन् किनभने भग्नावशेषमुनि जीवित व्यक्ति फेला पार्ने सम्भावना प्रत्येक पल घट्दै गएको छ।
आखिर, जिउँदो मानिस फेला पर्ने आशामा यो खोजी कार्य कहिलेसम्म जारी राख्ने ? भग्नावशेषमुनि मानिसहरु एक सातासम्म बाँच्न सक्ने विज्ञहरु बताउँछन् । यद्यपि यो कुरा उनीहरू कुन अवस्थामा फसेका छन्, उनीहरूले कति क्षति बेहोरेका छन् र मौसम कस्तो छ भन्ने कुरामा पनि भर पर्छ। मानिसहरूलाई जतिसक्दो चाँडो बाहिर निकाल्न विदेशका उद्धारकर्मीहरूको टोली पनि टर्की र सिरिया पुगेको छ। यसका साथै बेपत्ता भएका व्यक्तिका आफन्तले पनि जिवित व्यक्तिसम्म पुग्ने गरी भग्नावशेष हटाउने काम गरिरहेका छन् ।
पहिलो २४ घण्टा महत्वपूर्ण : भग्नावशेषबाट जिउँदै उद्धार गरिएका अधिकांश भूकम्प गएको २४ घण्टाभित्रै भेटिने विज्ञहरू बताउँछन् । त्यस पछि, प्रत्येक बित्दै गएको दिन संग, मानिसहरू जीवित फेला पार्ने संभावना लगातार घट्दै गएको छ। यसको मुख्य कारण चोटपटक हो । मानिसहरु घर खसेर गम्भिर घाईते भए पनि सिधै मर्दैनन् तर समयमै उपचार नपाउँदा र कयौं घटनामा भग्नावशेषमा दबिएर अत्याधिक रक्तश्रावका कारण मानिसले ज्यान गुमाउने गरेका छन ।
मानिसको जीवन र मृत्यु बीचको भिन्नता निर्धारण गर्ने अर्को कुरा हावा र पानीको उपलब्धता हो । हावा नपुगेको ठाउँमा गहिरो गाडिएमा निसास्सिएर मानिसको मृत्यु हुन्छ । पानी नपाउँदा मानिसको ज्यान पनि जान सक्छ । यसबाहेक, मौसम पनि धेरै हदसम्म मानिसहरूको बाँच्नका लागि जिम्मेवार हुन सक्छ। सिरिया र टर्कीमा राहत र उद्धार कार्यमा मौसम प्रमुख अवरोध बनेको छ। त्यहाँ अहिले चिसो बढेको छ । भूकम्प गएको रात धेरै ठाउँमा हिउँ परेको थियो र तापक्रम शून्य डिग्रीभन्दा तल थियो।
अमेरिकाको म्यासाचुसेट्स जनरल हस्पिटलका आपत्कालीन तथा विपद् औषधि विशेषज्ञ डा. जारोन ली भन्छन्, “सामान्यतया पाँचौंदेखि सातौं दिन पछि, भग्नावशेषमुनि कोहि जीवित फेला पर्ने घटना विरलै हुन्छ। धेरैजसो घटनामा राहत उद्धारकर्ताहरूले त्यतिबेलासम्म मानिसहरूको खोजी गर्न छोडिसक्छन्। यद्यपि यस्ता धेरै कथाहरू छन् जहाँ मानिसहरू सात दिन पछि पनि जीवित फेला परेका छन् । दुर्भाग्यवश, यस्ता घटना दुर्लभ र विरलै हुन्छन् ।”
नर्थवेस्टर्न युनिभर्सिटी फाइनबर्गको मेडिकल स्कूलका आपतकालीन चिकित्सा विशेषज्ञ डा. जर्ज शियानपास भन्छन्- मानिसहरू बाँच्ने सम्भावनामा सबैभन्दा ठूलो बाधा चट्टान वा कंक्रीटमुनि थिचिएर चोट लाग्नु र अंगविच्छेदन हुनु हो । उनी भन्छन्, “पहिलो घण्टा सुनौलो घण्टा हो। यदि पहिलो घण्टा नै उनीहरूलाई बाहिर निकाल्न सकिएन भने तिनीहरूको बाँच्ने सम्भावना धेरै कम हुन्छ।”
बिरामी र कुनै न कुनै औषधिमा भर परेका यस्ता व्यक्तिको बाँच्ने सम्भावना पनि निकै कम हुने सियाम्पास बताउँछन् । यो कुरा वृद्ध उमेर र शारीरिक तथा मानसिक स्वास्थ्यमा समेत निर्भर गर्दछ । युवाहरू बाँच्ने सम्भावना बढी हुन्छ । क्यालिफोर्निया विश्वविद्यालय, सान फ्रान्सिस्कोमा काम गर्ने डा. क्रिस्टोफर कोलवेल पनि आपतकालीन चिकित्सा विशेषज्ञ हुन्। उनी भन्छन्, ” जुन घटनामा मानिसहरू चमत्कारिक रूपमा वा डरलाग्दो परिस्थितिमा पनि बाँचेका हुन्छन् तिनीहरू प्रायजसो युवा हुन्छन् । ” जापानमा सन् २०११ को भूकम्प र सुनामीपछिको घरको भग्नावशेषबाट नौ दिनपछि एक किशोर र उनकी ८० वर्षीया हजुरआमा जीवितै फेला परेका थिए। त्यसको एक वर्षअघि हाइटीमा भूकम्प गएको थियो । त्यतिबेला पोर्ट–ओ–प्रिन्समा १६ वर्षीया किशोरी १५ दिनपछि जिउँदै फेला परेकी थिइन् ।
डा. शियानपास भन्छन्- पीडितको मानसिक अवस्थाले पनि धेरै निर्णय गर्छ। जो अन्य लाशहरूसँगै अड्किएका छन् र कसैसँग सम्पर्कमा छैनन् उनीहरूले आशा छोड्ने सम्भावना बढी हुन्छ। यदि सँगै अर्को कोही जीवित छ भने उनिहरु दुवै एकअर्कामा निर्भर हुन्छन र उनिहरु बाँच्ने सम्भावना पनि बढि हुन्छ ।”
एपी
प्रतिक्रिया