भारतीय विदेश सचिव क्वात्रा काठमाडौंमा

नेपालखोज २०७९ फागुन १ गते ११:४०

काठमाडौं । भारतीय विदेशसचिव विनयमोहन क्वात्रा काठमाडौं आइपुगेका छन् । क्वात्रालाई परराष्ट्रसचिव भरतराज पौड्यालले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् । क्वात्रा दुई दिने औपचारिक भ्रमणमा काठमाडौं आएका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार आज याक एन्ड यति होटलमा द्विपक्षीय परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक हुँदैछ ।

क्वात्रा र नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालको नेतृत्वमा रहेको टोलीले उक्त संयन्त्रको बैठक गर्न लागेको हो । क्वात्रा र परराष्ट्र सचिव पौड्यालबीच दुई मुलुकका विभिन्न आयाममाथि छलफल हुने बताइएको छ । दुई मुलुकबीच प्रशासनिक तहको सबैभन्दा उच्च संयन्त्रको बैठकपछि विदेश सचिव क्वात्राले परराष्ट्रमन्त्री विमला पौड्याल राईसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

यस्तै, क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । नेपालका लागि पूर्वभारतीय राजदूतसमेत रहेका क्वात्रा प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरका विश्वास पात्र हुन् । उनले प्रधानमन्त्री दाहाललाई भारत भ्रमणको निम्तो समेत दिने बताइएको छ ।

पौडेल र क्वात्राबीच आजै प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ, जहाँ कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य र संस्कृतिलगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । वार्तामा नेपालले हवाई प्रवेश अनुमति, पञ्चेश्वरको डिपिआर, सीमा वार्तालगायत विषयमा प्रस्ताव गर्नेछ ।

प्रतिक्रिया