बीमा रकम निकाल्ने योजनामा चालकले लगाए गाडीमा आगो

नेपालखोज २०७९ फागुन १ गते १४:३६

काठमाडौं । बर्दियामा बीमा गरेको रकम निकाल्ने योजनामा एक चालकले आफैंले चलाएको गाडीमा आगो लगाएर ध्वस्त पारेको घटना खुलासा भएको छ ।

आइतबार राति २ बजे जिल्लाको मधुवन नगरपालिका-४ बसन्तास्थितमा लु २ ख २०८४ नम्बरको फोर्स गाडी आगलागी भएको अवस्थामा फेला पारिएको थियो ।

गाडीमा आगजनी भएको खबर पाएर पुगेको इलाका प्रहरी कार्यालय ढोढरीको टोलीले घटनाको अनुसन्धान गर्ने क्रममा सुनियोजित रुपमा चालकले आगो लगाएको पाइएपछि प्रहरीले चालकलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ ।

पक्राउ पर्नेमा बर्दियाको मधुवन नगरपालिका-२ गंगापटुवाका रामु चौधरी रहेका छन् । बयानमा चालक चौधरीले आफैंले आगजनी गरेको स्वीकार गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रामुले गाडी बिग्रिएको र मर्मतको लागि ग्यारेजमा लैजाँदा धेरै रकम लाग्ने देखिएपछि बीमाको रकम दाबी गर्ने उद्देश्यले आगजनी गरेको खुलेको प्रहरीले जनाएको छ ।

सुरुमा गाडीलाई जिपको सहायताले जंगल क्षेत्रमा पर्ने बसन्ता पुर्‍याएर डिजेल छर्केर आगजनी गरेका थिए । आगजनीबाट गाडी पूर्णरुपमा नष्ट भएको छ ।

प्रतिक्रिया