सकियो परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक

नेपालखोज २०७९ फागुन १ गते १६:१०

काठमाडौं । दुई देशबीच साझेदारीबारे छलफल गर्दै नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सम्पन्न भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा दुवै पक्षले समग्र क्षेत्रको हितका लागि आर्थिक र विकास सहयोगलाई थप बलियो बनाउने विषयमा सहमति जनाएका छन् ।

द्वीपक्षीय परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा नेपालका परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका विदेश सचिव विनयमोहन क्वात्राको नेतृत्वमा ७–७ जनाको टोली उपस्थित थियो । भारतीय विदेश सचिव क्वात्रा दुईदिने औपचारिक भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका हुन् । उनलाई परराष्ट्र सचिव पौड्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

परराष्ट्र मन्त्रालयका अनुसार त्यसलगत्तै उनीहरु याक एन्ड यति होटलमा द्वीपक्षीय परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक भएको थियो । बैठकपछि विदेश सचिव क्वात्राले उच्चस्तरीय राजनीतिक भेटघाटहरू गर्ने भएका छन् । उनको भेटघाटको सूचीमा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि जनमत पार्टीका अध्यक्ष सीके राउतसम्म रहेको परराष्ट्रको भनाइ छ । आज नै विदेश सचिव क्वात्राले परराष्ट्रमन्त्री विमला राई पौड्याल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ ।

प्रतिक्रिया