शनिबार, वैशाख १३, २०८२

सुरु भयो पशुपतिमा लिङ्ग पुराण

नेपालखोज २०७९ फागुन २ गते १३:१२

काठमाण्डौं । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्र विकास कोषले आजदेखि लिङ्ग पुराण महायज्ञ आयोजना गरेको छ । लिङ्ग पुराणको नेपाली अनुवादसहित प्रकाशन गरेको कोषले महाशिवरात्रिका अवसरमा पहिलोपटक यो अनुष्ठान गरेको हो । नेपाली अनुवादसहितको लिङ्ग पुराण महाशिवरात्रिकै अवसरमा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले यही फागुन ५ गते विमोचन गर्नुहुने कार्यक्रम छ ।

पशुपतिनाथ पश्चिम मूल ढोकाअघि रहेको शङ्कराचार्य मठमा पुराण वाचन सुरु भएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । विमोचनपछि पशुपतिनाथ मूल मन्दिरको पश्चिमढोका अघि स्थापना गरिएको कोषको बिक्री कक्षबाट पनि पुराणको पुस्तकको बिक्री गरिने जनाइएको छ । कोषले यसअघि शिव पुराण पनि नेपाली अनुवादसहित प्रकाशन गरिसकेको छ । कोषले प्रकाशन गरेका सबै पुस्तक पश्चिमढोका अघिको बिक्री कक्षमा पाइने संस्कृति महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले बताए ।

हिजाेदेखि सुरु भएको लिङ्ग पुराण शङ्कराचार्य मठका स्वामीद्वय डा. रमणानन्द गिरी र डा. केशवानन्द गिरीले वाचन गरिरहेका छन । लिङ्ग पुराण महाशिवरात्रिका अवसरमा फागुन ६ गतेसम्म सञ्चालन गरिने छ । यस वर्षको महाशिवरात्रि पर्व फागुन ६ गते परेको छ । कोषले महाशिवरात्रिको तयारी गरिरहेको छ । यस वर्षको महाशिवरात्रिमा विशिष्ट अतिथिका रूपमा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वती फागुन ४ गते राजधानी आउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया