सोमबार, वैशाख १७, २०८१

‘प्रथम सहिद’

नेपालखोज २०७९ फागुन ३ गते १०:१५

मन्दाक्रान्ता छन्दमा लेखिएको यो कविता प्रथम सहिद क्याप्टेन लखन थापा मगरको १४६ औँ स्मृति दिवसको अवसरमा फागुन २० गते नेपाल आदिवासी जनजाती महासंघ ईजरायलको आयोजनामा भर्चुअल कविता प्रतियोगीतामा प्रथम बनेको थियो ।

कालो रात्री सकल जनको चिर्नलाई लडे थे
बोल्दै बोली गरिबहरुको फेर्न हाँसो बढे थे ।
राणा जात्रा वरपर सबै मात्र निस्सार थियो
उत्र्यो झिल्को अनि लखनको धर्मको क्रान्ति दियो ।।४

गोर्खालीको सपूत तमु हौ क्रान्ति रोज्यौ लडाईँ
आमा बेच्ने कपुतहरुको नाश औ लोक भलाई ।
त्यागी पैसा,सुखशयल औ राष्ट्रको निम्ति लड्ने
त्यै हो योद्धा सहिद पहिलो शीर्ष कैल्यै नझुक्ने ।।८

बाटो रोजे भतभत जहाँ पिल्सिने बालुवाको
जङ्गे काँप्यो थरथर जसै क्रान्ति सल्क्यो प्रजाको ।
जुट्ने,उठ्ने रहर मनको प्राप्तिको मार्ग खन्दै
चौतारीमा मगज जनको चेतनाले सुधार्दै ।।१२

तानाशाही रगत,पसिना चुस्नमा व्यस्त हुन्थे
निर्धा मान्छे र त हुकुमको उत्तरै छैन भन्थे ।
जो भो योद्धा अटल नझुकी दुष्टको माथ ताकी
शताब्दीयौँ किन चुप भयौ राज्यसत्ता बिरामी ।।१६

हिन्दुस्तानी विचलित भए जाल अंग्रेजको थ्यो
नेपाली थे गिरिशिखरमा काल अंग्रेजको भो ।
जो थे यात्री थकित नहुने राष्ट्रको निम्ति मर्ने
आँटी–गोर्खे लखन पहिलो वीर हुन् देश फेर्ने ।।२०

आहा राम्रो! मगरहरुको पुज्न जाऔँ लखन्या
राखौँ श्रद्धा सहिदहरुको मार्ग रोजौँ न सदा ।
खिर्राको त्यो विपुल रुखमा पुत्रको अन्त्य भयो
उत्र्यो झिल्को अनि लखनको धर्मको क्रान्ति दियो ।।२४

जेबि “जिज्ञासु“ राई
नेचासल्यान २, सोलुखुम्बु
प्रदेश नं. १

प्रतिक्रिया