भूउपयोग योजना अन्तर्राष्ट्रिय कार्यशाला हुँदै

नेपालखोज २०७९ फागुन ४ गते ८:०२

काठमाण्डौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूउपयोग योजना र भूउपयोग प्रशासन विषयमा दुईदिने अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना गर्दैछ ।

काभ्रेको धुलिखेलमा आज बिहीबार र भोलि शुक्रबार संचालन हुने कार्यशालामा १ सय ५० विदेशी विज्ञ र एक सय ५० नेपालीको सहभागिता हुने मन्त्रालयका सचिव डा दामोदर रेग्मीले जानकारी दिए । कार्यशालामा विश्व सर्भेयर महासङ्घमा आबद्ध देशका भूमि प्रशासकले आआफ्नो देशको भूमि प्रशासन भूउपयोग नीतिको अवस्था तथा यसका अवसर र चुनौतीबारे कार्यपत्र प्रस्तुत गर्नेछन् ।

नेपालले जारी गरेको भूउपयोग नीतिले नेपालको भूमिलाई १० क्षेत्रमा वर्गीकरण गरेको छ । कृषि क्षेत्र, आवासीय क्षेत्र, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, ताल तलैया क्षेत्र, वन क्षेत्र र सार्वजनिक उपयोग क्षेत्रसहित रहेका छन् । राष्ट्रिय भूमि नीति, भूमि ऐन र नियमावलीसमेत जारी भएको अवस्थामा आयोजना हुन लागेको यो कार्यशाला नेपालका लागि उपयोगी हुने सचिव डा. रेग्मीले बताए ।

भूमिसम्बन्धी विभिन्न विषयका कार्यपत्र प्रस्तुत हुने कार्यशाला गोष्ठीलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गर्नुहुने कार्यक्रम छ ।

प्रतिक्रिया