नेता भण्डारीलाई एयर एम्बुलेन्समार्फत उपचारका लागि भारत लगिँदै

नेपालखोज २०७९ फागुन ४ गते १३:२४

काठमाडौं । ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीलाई परिवारकै आग्रहमा थप उपचारका लागि भारतको मुम्बई लैजान कीर्तिपुर अस्पतालले रिफर गरेको खुलेको छ ।

भण्डारीको हात, खुट्टा र अनुहार जलेको छ । गहिरो गरी जलेका ठाउँमा छाला राख्नुपर्ने अवस्था रहेकोले थप जोखिम हुन नदिन भारत लैजान रिफर गरिएको उपचारमा संलग्न डा. नजिना ताम्राकारले बताएकी छन् । उनका अनुसार भण्डारीलाई मुम्बईमा रहेको नेशनल बर्नस् सेन्टरमा लैजान लागिएको छ ।

कीर्तिपुरमै उपचार गर्दा जोखिम मात्रा बढी रहने देखिएपछि उपचारमा सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको र त्यसमा परिवारका सदस्यहरुबाट भएको अनुरोधका कारण पनि रिफर गर्न सजिलो भएको उनको भनाइ छ ।

भण्डारीलाई आजै उडानबाट भारत लगिँदैछ । डा. ताम्राकार पनि भण्डारीको उपचारका लागि भारत जाने भएकी छन् ।
गएराति बुद्धनगरस्थित बस्दै आएको घरमा खाना पकाउने ग्यास लिक हुँदा भएको सिलिण्डर विष्फोटमा परी सांसद भण्डारी र उनकी आमा हरिकला गम्भीर भएका थिए ।

राति नै उनीहरुलाई कीर्तिपुर अस्पताल पुर्याइएकामा आमा हरिकलाको भने उपचारकै क्रममा आज बिहान १० बजेर ५७ मिनेटमा निधन भएको छ ।

प्रतिक्रिया