ललितकलाको विकासका लागि गुरुयोजना बनाएर अघि बढ्छु : कुलपति

नेपालखोज २०७९ फागुन ४ गते २१:२१

काठमाडाैं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ललितकलाको विकास तथा संवर्द्धनका लागि चारवर्षे दीर्घकालीन गुरुयोजना बनाएर अघि बढ्ने भएको छ । प्रतिष्ठानका पूर्वकुलपति, ललितकलाका विज्ञ तथा कलाकारहरूसँगको छलफलको निष्कर्षका आधारमा गुरुयोजना बनाई अघि बढ्ने प्रतिष्ठानका नवनियुक्त कुलपति नारदमणि हार्तम्छालीले जानकारी दिए ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा कुलपतिको शपथग्रहणपछि नक्सालस्थित प्रतिष्ठान कार्यालयमा आयोजित उपकुलपति, सदस्यसचिव तथा प्राज्ञ परिषद् सदस्य र प्राज्ञसभा सदस्यहरूको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै कुलपति हार्तम्छालीले कुनै पनि पूर्वाग्रह नराखी ललितकलाको विकासमा तल्लीन भएर लाग्नेसमेत प्रतिबद्धता जनाए । नवनियुक्त कुलपति हार्तम्छालीले सबै पक्षलाई समेटेर प्रतिष्ठानलाई अघि बढाउने पनि बताए ।

उक्त अवसरमा उहाँले समन्वयात्मक रूपमा काम गर्ने वाचा पनि गर्नुभएको छ । उहाँले आजै नवनियुक्त उपकुलपति लालकाजी लामा, सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’सहित प्राज्ञपरिषद् सदस्यहरू पाल्साङ्मो लामा, प्रदीप अधिकारी, सौरगङ्गा दर्शनधारी, दिनेश्वर महत्तो, सञ्जय बान्तवा र अरुणा हिङमाङलाई शपथ गाउनुभएको थियो । सो क्रममा २४ जना प्राज्ञसभा सदस्यलाई पनि शपथ गराइएको थियो ।

पथसँगै उहाँहरूको चारवर्षे कार्यकाल पनि आजैदेखि प्रारम्भ भएको छ । गत पुस १५ गतेदेखि प्रतिष्ठानका कुलपति, उपकुलपति तथा परिषद् सदस्यलगायतको कार्यावधि सकिएर प्रतिष्ठान नेतृत्वविहीन भएकामा ४७ दिनपछि नेतृत्व पाएको हो । आजै नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपति, उपकुलपति, सदस्यसचिवलगायतले शपथ लिएका थिए ।

प्रतिक्रिया