डोलेश्वरमा महाशिवरात्री

काठमाण्डौं । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिले आज शिवरात्रीका दिन भक्तजनका लागि सहज दर्शनको व्यबस्था गरिएको जानकारी दिएको छ ।
समितिका महासचिव हरिशरण बस्नेतले शिवरात्रीका दिन सर्वसाधारण भक्तजनका लागि बिहान ४ बजेदेखि १२ बजेसम्म मन्दिरका चारै ढोका खुल्ला गरी गर्भ गृहमा प्रवेश गरी पूजा एवं दर्शन गर्ने व्यवस्था गरेको जानकारी दिए । महाशिवरात्रीको दिन भक्तजनलाई पञ्चस्नानसमेत गर्ने व्यवस्था गरिएको छ भने मन्दिरको गर्भमा गएर पूजा एवं दर्शन गर्ने व्यबस्था गरेको उनले जानकारी दिए ।
पर्वका लागि आएका साधुसन्तलाई समितिले खाने बस्ने, धुनी बाल्न दाउराको व्यवस्था गरिएको तथा मेला भर्न आउने सम्पूर्ण भक्तजनलाई प्रसादको व्यवस्था गरिएको उनले जानकारी दिए । शिवरात्री पर्वका लागि डोलेश्वर आउने साधु सन्त र बाबाहरु मध्ये ‘क’, ‘ख’ र ‘ग’ वर्गमा विभाजन गरी दक्षिणा एवं धोती दिएर विदाई गर्ने व्यवस्था गरेको छ ।
महासचिव बस्नेतले शिवरात्रीका लागि यसवर्ष ३५० जना साधुसन्त एवं बाबाहरु आएका जानकारी दिदै डोलेश्वरमा दर्शनका लागि एक लाख भन्दा बढी बढी दर्शनार्थी आउने अनुमान गरिएको बताए ।

प्रतिक्रिया