आज राससको ६२औँ वार्षिकोत्सव

नेपालखोज २०७९ फागुन ७ गते ६:२७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तथ्यमा आधारित समाचार र विश्लेषणहरू आफ्ना सेवाग्राहीलाई उपलब्ध गराउँदै विश्वसनीय समाचारको प्रमुख स्रोतको रूपमा राष्ट्रिय समाचार समिति (रासस)को भूमिका अझै सुदृढ हुँदै जाने अपेक्षा व्यक्त गरेकी छन् ।

राष्ट्रिय समाचार समिति (रासस)को ६२औँ वार्षिकोत्सवका अवसरमा एक शुभकामना सन्देश दिँदै राष्ट्रपतिले राष्ट्रको आधिकारिक समाचार संस्थाका रूपमा स्थापित राससले लोकतान्त्रिक प्रतिस्पर्धाको युगमा सोहीअनुरुप आफूलाई क्रियाशील राखेको पाउँदा आफूलाई खुसी लागेको बताइन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तित सन्दर्भमा सत्यतथ्यपूर्ण, विश्वसनीय, आधिकारिक र भरपर्दो सूचना तथा समाचार शीघ्र प्रवाह गरी आमजनतालाई सुसूचित गराउने जिम्मेवारी राससको रहेको बताएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय समाचार समिति समयानुकूल अझ विश्वसनीय, सशक्त र प्रभावकारी समाचार स्रोतका रुपमा प्रस्तुत हुनुपर्ने बताएकी छन् ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय समाचार समिति (रासस)को ६२औँ वार्षिकोत्सवको अवसरमा राससमा कार्यरत पत्रकार, कर्मचारी, व्यवस्थापन एवं सेवाग्राहीमा शुभकामना व्यक्त गरेका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आम नागरिकलाई सु-सूचित गराउँदै आएको राष्ट्रिय समाचार समिति (रासस)लाई ६२औँ वार्षिकोत्सवको अवसरमा बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले राष्ट्रिय समाचार समितिले आफूलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाई आधिकारिक, प्रामाणिक र सही सूचना सम्प्रेषण गर्न थप मेहनत गरेका छन् ।

प्रतिक्रिया