भौतिक पूर्वाधार विकासमा गुणात्मक फड्को आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेका तीन कार्यदलका प्रमुखहरूसहित मन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आइतबार छलफल गरेका छन् ।
मन्त्रालयले जनताको दैनिक जीवनसँग जोडिएका प्रश्नहरूलाई सम्बोधन गर्न विज्ञ सम्मिलित कार्यदल बनाएको थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सूर्यराज आचार्यको संयोजकत्वमा पूर्वाधार विकास प्रणाली सुधार कार्यदल, पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा समग्र यातायातमा सुधार अध्ययन कार्यदल र राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा सुशासन सुधार सुझाव कार्यदल बनाएर काम गरेकोमा प्रधानमन्त्री प्रचण्डले प्रशंसा गरेका थिए ।
सुशासनका लागि सरकारले आधारभूत सुधारमा जोड दिएको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसपक्षमा परिणामात्मक थालनी गरेकोमा खुसी लागेको प्रधानमन्त्रीको भनाइ थियो ।
विकासको विस्तार, सुधार र प्रशासनको चुस्ततामा सरकारले जोड दिएको र त्यसले छिटोभन्दा छिटो सकारात्मक परिणाम दिने विश्वास प्रधानमन्त्रीको छ ।
‘पहिलो त विकासप्रतिको बुझाइमै ठीक दृष्टिकोण बनाउन जरूरी छ । त्यसका लागि ऐन–कानुनको संशोधनमा समेत सरकारको जोड रहेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।
देशलाई विकास र समृद्धिको दिशामा लैजाने राज्यका सबै अंग र तहहरूको समन्वयात्मक भूमिका र संकल्प हुनुपर्ने उनले बताए ।
‘वर्तमान सरकार देशका सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न दृढतापूर्वक अघि बढिरहेको छ। तसर्थ, विकास र समृद्धिको लक्ष्य हासिल गर्न समन्वयात्मक भूमिका र संकल्पका अघि बढौँ,’ उनले भने ।
उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठले जनतालाई तत्काल र दीर्घकालीन राहत दिँदै सामाजिक न्यायसहित विकासमा गुणात्मक फड्को मार्ने, समाजवादउन्मुख समृद्धि निर्माण गर्ने प्रधानमन्त्रीको लक्ष्यमा एकाकार भएर भौतिक पूर्वाधार एवं यातायातका क्षेत्रमा कयौं सुधारहरू थालिएको बताए । त्यसका लागि कयौं ऐन कानुनको परिमार्जनको आवश्यकतासमेत उनले औंल्याए ।
पूर्वाधार विकास प्रणाली सुधार कार्यदलका संयोजक सूर्यराज आचार्य र यातायात सुधार कार्यदलका संयोजक शरदचन्द्र पौडेलले कार्यदलले कुन प्राथमिकतामा जोड दिन खोजेको छ भन्नेबारे प्रधानमन्त्री प्रचण्डलाई ‘ब्रिफिङ’ गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

प्रतिक्रिया