सोमबार, असार ४, २०८१

दुबईमा ४ दिने ‘नेपाल सिनेमा फेस्ट–२०२३’ सम्पन्न (फाेटोफिचर)

नेपालखोज २०७९ फागुन ८ गते १५:३५

काठमाडौं । ‘नेपाली सिनेमा र पर्यटनलाई विश्व माझ लैजाने’ मुख्य नारासहित चलचित्र विकास बोर्डले संयुक्त अरब इमिरेट्सको आर्थिक सहर दुबईमा आयोजना गरेको चारदिने ‘नेपाल सिनेमा फेस्ट–२०२३’ सम्पन्न भएको छ । २०७९ माघ २९ गतेदेखि फागुन ३ सम्म भएको कार्यक्रमको मुख्य उद्देश्यहरु नेपाली फिल्मको अन्तर्राष्ट्रियकरण र विदेशी बजार विस्तार गर्नु रहेकोमा सो बमोजिम उत्कृष्ट कार्यक्रम भएको छ । अन्तर्राष्ट्रियस्तरमा नेपाली चलचित्रको बजार विस्तारको पहलको लागि सुरु गरिएको यो कार्यक्रम नेपाली राष्ट्रिय चलचित्र उद्योगको लागि अत्यन्त महत्वपूर्ण साबित भएको छ । यसबाट नेपाली फिल्मले औपचारिक रुपमा अन्तराष्ट्रिय बजारको लागि ढोका खुल्ला गरेको छ ।

गत आइतबार राति सुरु भएको फेस्टमा नेपाली चलचित्रका निर्देशक, निर्माता, वितरक, कलाकार, सञ्चारकर्मी तथा गैरआवासीय नेपालीहरुको सहभागिता रहेको थियो । बोर्ड अध्यक्ष भुवन के.सी. सहित हल सञ्चालक नकिम उद्दिन, वरिष्ठ अभिनेता शिव श्रेष्ठ, निर्देशक तथा सञ्चारकर्मी भुषण दाहाल, निर्देशक रामबाबु गुरुङ, निर्माता रामकृष्ण पोखरेल, वितरक तथा निर्माता गोविन्द शाही, नायिका ऋचा शर्मा, नायक अनमोल केसी, नायिका उपासना सिंह ठकुरी लगायत दुबईस्थित व्यावसायीहरु र गैरआवासीय संघका प्रतिनिधिहरु उपस्थित रहेका थिए ।

हामी नेपाली फिल्मलाई अन्तर्राष्ट्रियकरण गर्ने ढोका खोल्न युएईमा उक्त कार्यक्रम लिएर पुगेका थियौँ । बोर्डको पूर्वानुमान र कार्यक्रमको उद्देश्यअनुरुप नेपालपछि नेपाली फिल्मको दोस्रो ठूलो बजार युएई बन्न सक्ने देखिएको छ । युएई मात्र होइन पूरै मध्यपूर्वमै नेपाली चलचित्रका वास्तविक दर्शक हुनुहुन्छ भन्ने बोर्डले ठानेको छ । नेपाल प्राकृतिक रुपमै छायांकन स्टुडियो भएकाले फिल्म छायांकनको लागि नेपाल आउन त्यहाँका फिल्ममेकरलाई आग्रह गरिएको छ भने नेपाली चलचित्र संयुक्त अरब इमिरेट्समा छायांकन हुँदा संयुक्त अरब इमिरेट्स सरकारबाट इन्सेन्टिभ (प्रोत्साहन) प्रदान गर्न पनि अनुरोध गरेका छौँ । फेस्टमा बोर्डले तयार पारेको गण्डकी प्रदेशको पर्यटन क्षेत्र र छायाङ्कन गन्तव्य सम्बन्धी श्रव्यदृश्य प्रचारसामग्री प्रदर्शन गरिएको छ ।

फेस्टको क्रममा ‘नेपाली फिल्मको प्रवर्द्धन र विदेशी बजार’ विषयमा छलफल भएको छ । कलाकार, निर्माता, वितरक र प्रदर्शकहरुबीच भएको छलफलमा एफएक्स निर्देशक तथा एप्पल इन्टरटेनमेन्ट प्रमुख नकिम उद्दिन, निर्देशक भुषण दाहाल, अभिनेत्री ऋचा शर्मा र मध्यपूर्व वितरक रमेश ढकाल सहभागि हुनुभएको थियो । छलफलमा नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा जान अब कसैले रोक्न नसक्ने यद्यपि नेपाली फिल्मले स्वदेश र विदेशमा पहिचान खोज्नुपर्ने बेला आएको लगायतका विषयहरूमा चर्चा भयो । छलफलबाट हामीले मौलिक कथा मात्र भन्न सकेको खण्डमा विश्व बजारको सम्भावना राम्रो रहेको निष्कर्ष निकालिएको छ । फिल्म निर्माण पैसाले मात्र नहुने भएर अध्ययन र सिर्जना महत्वपूर्ण हुने विषयमा पनि चर्चा गरियो । साथै, मध्यपूर्वमा नेपाली फिल्मको प्रदर्शन गर्न सम्बन्धित मुलुकको प्रक्रिया अनुसार जानुपर्ने र त्यहाँ हुने प्रचार–प्रसारमा नयाँ तरिकाहरु अपनाउनुपर्ने विषयमा पनि चर्चा भयो ।

फेस्टको दौरान अबदेखि नेपाली फिल्म मध्यपूर्वका ६ वटा देशका ५० भन्दा बढी हलमा एकसाथ प्रदर्शनमा आउने सहमति गरेका छौँ । नेपाली फिल्मका मध्यपूर्वका वितरक रमेश ढकाल र बोर्डले यस विषयमा लिखित सहमति गरेको छ । सम्झौताको समयमा संयुक्त अरब इमिरेट्सका लागि नेपालका राजदूत कृष्णप्रसाद ढकाल, गैरआवासीय नेपाली संघ, अध्यक्ष कुल आचार्य पनि उपस्थिति थिए।

फेस्टको क्रममा नेपालमा व्यावसायिक रुपमा सर्वाधिक कमाइ गरेको फिल्म ‘कबड्डी ४’ र यस वर्ष नेपालबाट अस्कर अवार्डमा पठाईएको फिल्म ’ऐना झ्यालको पुतली’ प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया