४ करोड ८३ लाख नाघ्यो निक्षेप खाताको संख्या

काठमाडौं । बैंकिङ क्षेत्रमा कुल निक्षेप खाताको संख्या चार करोड ८३ लाख नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा सञ्चालनमा रहेका २२ वटा बाणिज्य बैंक, क्षेत्रिय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स कम्पनी सहितका ५६ वटा संस्थाहरुमा रहेको कुल निक्षेप खाताको संख्या चार करोड ८३ लाख २४ हजार नौं सय ३९ पुगेको हो । यस अवधिमा लघुवित्त वित्तीय संस्था बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा रहेको कुल कर्जा खाताको संख्या भने १८ लाख ३३ हजार एक सय ६५ मात्र पुगेको देखिएको छ ।
राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो अवधिमा बाँणिज्य बैंकहरुमा मात्र रहेको कुल निक्षेप खाताको संख्या चार करोड १६ लाख २६ हजार एक सय ५८ पुगेको छ । यस अवधिमा बाँणिज्य बैंकहरुमा कुल १५ लाख तीन हजार सात सय ६६ वटा कर्जा खाताहरु सञ्चालनमा रहेको देखिएको छ । बिकास बैंकहरुमा भने कुल निक्षेप खाताको संख्या ५९ लाख ७७ हजार दुई सय ४५ पुगेको छ । यस अवधिमा बिकास बैंकहरुमा दुई लाख ८७ हजार पाँच सय ८१ वटा कर्जा खाताहरु सञ्चालनमा रहेको देखिएको छ ।
राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो अवधिमा फाईनान्स कम्पनीहरुमा भने सात लाख २१ हजार पाँच सय ३६ वटा निक्षेप खाताहरु सञ्चालनमा रहेको छन् । यसअवधिमा फाईनान्स कम्पनीहरुमा सञ्चालनमा रहेको कुल कर्जा खाताको संख्या भने ४१ हजार आठ सय १८ वटा रहेको राष्ट्र बैंकको भनाई छ ।


प्रतिक्रिया