पौवादुङमाका सामुदायिक विद्यालयमा इन्टरनेट सेवा

नेपालखोज २०७९ फागुन १० गते ९:३२

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका ३३ सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तार गरिएको छ। सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यले सो सेवा उपलब्ध गराइएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरण र पौवादुङमा गाउँपालिकाबिच विद्यालयमा इन्टरनेट सेवा विस्तारको सम्झौता भएको हो। प्राधिकरणले प्रत्येक विद्यालयमा २० एमबीपीएस ननडेडिकेडेट सेवा प्रदान गरेको हो ।

सम्झौताअनुसार प्राधिकरणले एक विद्यालयमा पहिलो वर्षमा ७३ हजार नौ सयका दरले २४ लाख ३८ हजार रुपैयाँ बराबरको इन्टरनेट सेवा प्रदान गर्नेछ । त्यस्तै, दोस्रो वर्षमा प्रतिविद्यालय १८ हजार रुपैयाँका दरले छ लाख बराबररुपैयाँको इन्टरनेट सेवा प्रदान गर्ने पौवादुङमा गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुनिता कटवालले जानकारी दिइन् ।

सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तारले बालबालिकालाई नवीनतम् प्रविधियुक्त शिक्षा लिन सहज हुने गाउँपालिका अध्यक्ष किरण राईले बताए । शिक्षालाई प्रविधिमैत्रीसँगै गुणस्तरीय बनाउन गाउँपालिकाले काम गरिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया