लण्डनमा एक नेपालीको घरबाट २ कराेड बराबरकाे सुन चोरी

काठमाडाैं । हित्रोस्थित स्ट्यानवेलमा एक नेपालीको घरमा ठूलो मात्रामा सुनको गरगहना चोरी भएको छ । गत आइतबार साँझ करिब ६ बजेतिर क्लेयर रोड निवासी अमृत गुरुङको घरबाट दुई करोड रुपैयाँ बराबरको करिब २ सय तोला सुनको गहना चोरी भएको हो ।
घरमा १३ बर्षिय बालक मात्र भएको मौका छोपेर चोरले नाटकीय रुपमा दाराज फोडी गरगहना लगेको गुरुङले बताए। उनले भने, ‘सधैँ आमा घरमै हुनुहुन्थ्यो, घट्नाको दिन एकैछिन बाहिर लिएर गएको थिएँ । छोरा एक्लै थियो, त्यही मौकामा चोर घरमा पसेछ ।’ आमा घरमै बस्ने भएकाले सुन सुरक्षित हुने विश्वास गरेर गुरुङकी बहिनीलेसमेत करिब ४० तोला सुनसँगै राख्न दिएकी थिइन् ।
गुरुङले दिएको जानकारी अनुसार आमा, छोरी र बुहारीका गरगना जोड्दा करिब २ सय तोला सुन र केही हिरासमेत चोरी भएको छ ।
चोरी भएलगत्तै घट्नास्थलको निरीक्षण गरेर प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । चोरले घर अगाडिको ढोका आफैँ खोलेर भित्र छिरी सामान बोकेर पछाडिबाट भागेको अनुमान गरिएको छ । ४ जनाको संख्यामा रहेका चोरमध्ये एक जनाले बालकलाई कोठामै बस्न र फोन नचलाउन भन्दै बन्दी बनाएको थियो । चोरले गरगहना चोरी गर्नुका साथै दराज र कुर्सी समेत तोडफोड गरेका छन् ।
पछिल्लो समयमा बेलायतस्थित नेपाली समुदायमा गरगहना चोरीको घट्ना बढ्दै गएको बताइन्छ। हन्स्लो बरोका काउन्सिलर विष्णु गुरुङले भूपूगोर्खा परिवारको घरमा धेरै चोरी हुने गरेको बताए । ‘सुन जोडे पनि घरमा राख्नु हुदैन भनेर सम्झाउँदा पनि सुन्दैनन् । चोरीको घट्ना बढेको बढैछ ।’, गुरुङले भने । उनले गरगहाना घरमा राख्नु धेरै जोखिम हुने भन्दै भएको गरगहना लकरमा राख्न सुझाव दिए ।

प्रतिक्रिया