डीआईजी अशोक सिंह राजीनामा दिने तयारीमा

काठमाडौं । उमेर विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा परेका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अशोक सिंहले आज पदबाट राजीनामा बुझाउँदैछन् । उनले दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा बुझाउने तयारी गरेका हुन् ।
उनको जन्ममिति नागरिकता र सिटरोलमा फरकफरक उल्लेख भएको पाइएपछि विरुद्धमा अख्तियारमा उजुरी परेपछि त्यसउपर छानविन भइरहेको बेला उनले पदबाट राजीनामा बुझाउने भएका हुन् ।
छानविनका क्रममा पदमा बसिरहँदा बर्खास्तमा पर्ने संभावना बढेपछि उनले त्यसअगावै आईजीसामू राजीनामा बुझाउने निष्कर्षमा पुगेको स्रोतको दाबी छ । नयाँ प्रहरी प्रमुखको दाबेदार मानिएका सिंह उमेर विवादका कारण सेवाबाट हात धुनुपर्ने अवस्थामा पुगेका छन् ।
उनको २०४२ जेठ २२ गते जारी भएको नागरिकता प्रमाणपत्रमा मिति शीर्षकमा १८ वर्ष लेखिएको छ । तर २०५० मंसिरमा प्रहरीमा जागिरका लागि दिएका आवेदनमा जन्म मिति २०२५ पुस १६ गते उल्लेख रहेको पाइएपछि अनुसन्धानमा तानिएका हुन् । कीर्ते गरेको भने नदेखिएको स्रोतले जनायो ।
सिंहको नागरिकता अनुसार उनी डीआईजी बढुवा नै नहुनुपर्ने उजुरीकर्ताको जिकिर छ ।उनले राजीनामा दिएको खण्डमा भावी आईजीपीको दौडमा डीआईजी वसन्त कुँवर, टेकप्रसाद राई र दीपक थापा मुख्य प्रतिष्पर्धी हुनेछन् ।

प्रतिक्रिया