संसदमा उठ्यो नारायणगढ-बुटवल सडक विस्तारमा भइरहेको ढिलाईप्रति प्रश्न

काठमाडौं । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले नारायणगढ–बुटवल सडकखण्डमा भइरहेको निर्माणमा कार्यप्रति प्रश्न उठाएका छन् ।
सांसद धवलशमसेर राणाले पूर्व–पश्चिम राजमार्गअन्तगृत नारायणगढ–बुटवल सडक खण्डमा सडक विस्तारको काम अत्यन्त ढिलाइ भइरहेको र सडकमा काम गर्ने मजदुर न्यून रहेको बताए । श्रमशक्ति बेरोजगार रहेको तर सडक विस्तारका काम अत्यन्तै ढिलासुस्ती भइरहेको देख्दा दुःख लागेको भन्दै काम छिटो सक्न कामदार थप गर्ने व्यवस्था मिलाउन आग्रह गरे ।
उनले त्यस सडक विस्तारको ठेक्का पाएका ठेकेदारलाई तत्काल बोलाएर निर्माणबारे जानकारी लिन पनि सरकारको ध्यानाकर्षण गराए । ‘त्यहाँ मुस्किलले सय जना मजदुर होलान्’ सांसद राणले भने, ‘देशमा यत्रो वेरोजगार छन् । रोजगारका लागि विदेश गइरहेका मजदुरलाई सेवा सुविधा दिएर सडक विस्तारको काम छिटो पुरा गर्नमा लगाउन पनि आग्रह गरे ।
उनले भने, ‘ठेकेदारलाई तत्काल बोलाएर कामदार बढाएर यसै हिउँदमा काम सक्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’ सडकमा उठेका धुलोले वरपरका बस्ती नै धुलाम्मे भएको जनाउँदै सांसदहरूले नागरिकको स्वास्थ्यमाथि खेलवाड भइरहेको बताए ।
बाँकेबाट निर्वाचित सांसद सांसद राणले आफू मंगलबार मात्र त्यहीबाट आएको र अरुबेला बुटवलबाट नारायणगढ आइपुग्न डेढ घण्टा लाग्ने बाटो ५ घण्टा लागेको बताए । यही गतिमा काम भए अरु ४ वर्षमा पनि विस्तारको काम नसकिने उनको भनाइ थियो ।
यो सडक खण्डकै कारण एम्बुसेन्समा लैजाने बिरामीले बिच बाटोमै मृत्युवरण गर्नुपर्ने अवस्था रहेको भन्दै बैठकमा बोल्ने सांसदहरुले ठेकेदारलाई बोलाएर स्पष्टिकरण लिन माग गरे ।

प्रतिक्रिया