‘कलंकी-महाराजगञ्ज सडक विस्तार कार्य चाँडै सुरु हुन्छ’

काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले कलंकी–महाराजगञ्ज चक्रपथ सडक विस्तार कार्य चाँडै सुरु गर्ने बताएका छन् ।
चिनियाँ सहयोगबाट बनाइन लागिएको उक्त सडक खण्डको निरीक्षणको काम बिहीबार बिहान नेपालका लागि चिनियाँ राजदूत छन सोङ्गसहित संयुक्त रुपमा गरेपछि मन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् ।
कलंकीदेखि काठमाडौंको चक्रपथ विस्तारको जिम्मा चिनियाँ कम्पनीले नै लिएको छ । कलंकी–कोटेश्वर खण्डको काम धेरै पहिले सम्पन्न भइसके पनि यस क्षेत्रमा साइट क्लियर नहुँदा यो खण्डको काम गर्न बाँकी नै छ । निरीक्षणमा काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि सहभागी थिए ।
साइटमा महानगरको क्षेत्राधिकार पर्ने टहरा हटाउने काम र प्राधिकरणको क्षेत्राधिकारभित्र पर्ने बिजुलीको पोल पूर्ण रुपमा हटाइसकिएको छैन । वन कार्यालयको क्षेत्राधिकारको काम रुख हटाउने काम भने पहिल्यै भइसकेको छ ।
विस्तार कार्यभित्र थुप्रै संख्यामा मन्दिर र साँस्कृतिक सम्पदाहरु रहेका छन् । बिजुलीका पोल र सडक छेउमा रहेका मन्दिरहरु सार्ने तर स्वयम्भूका संरचनाहरु भने नभत्काइकन सडकको डिजाइन परिवर्तन गर्ने सहमति भएको मन्त्री श्रेष्ठले बताए ।
कलंकीदेखि महाराजगञ्जसम्मको सडक विस्तारको काम चाँडै काम सुरु गर्ने सहमति चीन सरकारसँग भएको मन्त्री श्रेष्ठले बताए । कोटेश्वरबाट कोटेश्वरसम्मको २७ किलोमिटर चक्रपथ निर्माणको काममा चीनले आर्थिक सहयोग गर्ने वचन दशकौंं अघि दिएको थियो । त्यसमध्ये कोटेश्वर–कलंकी खण्ड पूरा भएको हो ।
उसले काटेश्वरदेखि भक्तपुरको सूर्यविनायक खण्ड पनि चौडा गराइसकेको छ भने सूर्यविनायकदेखि काभ्रेको सदरमुकाम धुलिखेलसम्म २० किलोमिटर सडक विस्तार पनि गर्ने वचन दिइसकेको छ ।

प्रतिक्रिया