विश्वकप क्रिकेट लिग-२ : नामिबिया यूएईसँग एक विकेटले हार्याे

काठमाडाैं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईले नामिबियालाई एक विकेटले पराजित गरेको छ । दुबई क्रिकेट मैदानमा बिहीबार नामिबियाले दिएको ९२ रनको चुनौती यूएईले ३३ ओभरमा ९ विकेट गुमाउँदै भेट्टाएको हो ।
विजयी भएको यूएईका आयान अफजल खानले नटआउट ३५ रन जोडेका थिए । उता बलिङतर्फ पराजित नामिबियाका तान्गेनी लुङ्गामेनीले ४, रुबेन ट्रम्पलम्यानले ३ र बेन सिकोन्जोले २ विकेट झारेका छन् । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले ३१ ओभर १ बलमा ९१ रन बनाउँदै सबै विकेट गुमाएको थियो ।
नामिबियाका लागि ट्रम्पलम्यानले सर्वाधिक ३० रनको स्कोर गरे। नामिबियालाई सस्तैमा समेट्न बलिङतर्फ यूएईका कार्तिक मय्यप्पन, जहुर खान र अफजल खानले व्यक्तिगत ३/३ विकेट झार्न सफल भए ।
नामिबियालाई हराएपछि यूएईले २९ अंक बनाएको छ। उसले हालसम्म २७ खेल खेलेको छ। ऊ अहिले अंकतालिकाको पाँचौँ स्थानमा छ । अर्कातिर पराजित नामिबिया ३५ खेलबाट ३७ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ। नामिबियाको पराजयले नेपाललाई भने केही सजिलो भएको छ ।
प्रतिक्रिया