बुधबार, जेठ १, २०८२

पुटिनका लागि महंगो साबित युक्रेन युद्ध, के-के गुम्यो ?

नेपालखोज २०७९ फागुन १२ गते १६:३६

रुसले युक्रेन माथि धावा बोलेक‍ो आज एक वर्ष पूरा भएको छ । गत वर्ष २४ फेब्रुअरीमा रुसी सेनाले युक्रेनमाथि ३ तर्फबाट भीषण आक्रमण गरेको थियो । रुसको प्रयास युक्रेनको राजधानी किभमा जतिसक्दो चाँडो कब्जा गरेर जेलेन्स्कीको सत्ता उखाल्ने थियो । यसका लागि रुसले लाखौं सैनिक खटाएको थियो भने क्षेप्यास्त्रको वर्षाले युक्रेनका धेरै सहरलाई भग्नावशेषमा परिणत पनि गर्यो । यद्यपि आज युद्धको १ वर्ष बितिसक्दा पनि रुस युक्रेनमा आफ्नो लक्ष्य भन्दा धेरै टाढा छ ।

विश्लेषकहरूका अनुसार अमेरिकालगायत पश्चिमी मुलुकहरुको हतियारले सुसज्जित युक्रेन अब रुसका लागि अर्को ‘अफगानिस्तान ’ बन्दै गएको छ । यो युद्धमा अहिलेसम्म ३ लाखभन्दा बढी मानिसको मृत्यु भैसकेको छ भने ६३ लाख मानिस घरबारविहीन भएका छन् । अमेरिकी पत्रिका न्यूजवीकको रिपोर्ट अनुसार पुटिनको सेनाले यो युद्धमा अहिलेसम्म ९ ट्रिलियन डलरको ठूलो नोक्सानी बेहोरेको छ । यो पाकिस्तानको कुल विदेशी मुद्रा सञ्चिति ३ अर्ब डलरभन्दा ३ हजार गुणा बढी हो । यस सँगै रुसका ३ सय लडाकु विमान तथा ६ हजार ३ सय भन्दा बढी सशस्त्र सवारीसाधन ध्वस्त भएका छन् । युक्रेनका अनुसार यो लडाइँमा १ लाख ३० हजार भन्दा बढी रुसी सैनिक मारिएका छन् । पत्रिकामा रुसले यस्तो घाटाको कल्पना समेत नगरेको बताइएको छ । यो हानिका बाबजुद पुटिनले युक्रेनमा युद्ध जारी राख्ने बताएका छन् ।

अमेरिकाको विल्सन सेन्टरका रुसी अर्थतन्त्र विज्ञ बोरिस ग्रोजोव्स्कीले युक्रेन युद्धमा रुसको खर्च अहिले ९ ट्रिलियन नाघेको अनुमान गरेका छन् । रुसले यो युद्धमा दैनिक ९० करोड डलर खर्च गर्ने गरेको बोरिसले बताएका छन । रुस सरकारको सन् २०२२ को कुल खर्च योजना ३ सय ४६ अर्ब डलर रहेकोमा ४६ अर्ब डलर सेना र ३६ अर्ब ९० करोड डलर फेडरल सिक्‍योरिटी सर्विस तथा प्रहरीमा खर्च भएको बताईन्छ । संघीय सुरक्षा सेवा र प्रहरीको पैसा पनि अहिले सेनालाई दिइन थालेको उनले बताए । रुसले यो युद्धमा ५० प्रतिशत बढी खर्च गरिरहेको बोरिसले अनुमान गरेका छन् । यद्यपि, यदि युक्रेनको कब्जा गरिएको क्षेत्रमा तैनाथ घाइते सैनिकहरुको उपचार तथा त्यहाँको कुल खर्च थपियो भने यो युद्धको कुल लागत १५ ट्रिलियन डलर पुग्न सक्छ ।

अर्का विज्ञ सीन स्पोन्ट्स भन्छन् – बोरिसको यो अनुमान एकदमै कम छ र रुसले त्यस भन्दा बढी क्षति बेहोरेको छ । सिनका अनुसार युक्रेन आक्रमणको तेस्रो महिनामा रसियाले युद्धमा प्रति दिन ९०० मिलियन युएस डलर खर्च गरिरहेको थियो। युक्रेन युद्धमा रुसले आफ्ना आधा ट्याङ्क गुमाएको अनुमान गरिएको छ भने कुल १ हजार ७ सय ६९ वाहन नष्ट भएको अनुमान गरिएको छ । युक्रेनको रक्षा मन्त्रालयले पछिल्लो एक वर्षमा १ लाख ३० हजार रुसी सैनिक मारिएको अनुमान गरेको छ । यसबाहेक ६ हजार ३ सय युद्ध सवारी साधन तथा ३ सय लडाकु विमान ध्वस्त भएका छन् ।

सिनले रुससँग पैसा कम भएपछि युद्धमा नष्ट भएका हतियार बदल्न नसकिरहेको पनि बताए । यही कारणले गर्दा रुसले अब युक्रेन युद्धमा पुराना ट्याङ्क तथा लडाकु सवारी साधनहरू मैदानमा उतारिरहेको छ । उनले भने, ‘हामीले देखिरहेका छौँ कि रुस अहिले आफ्ना सैनिकहरूलाई आधारभूत सामग्री उपलब्ध गराउन पनि सक्षम छैन । अवस्था कस्तो छ भने रुसी सेनाले अहिले दोस्रो विश्वयुद्धको मोसेन नागान्ट राइफल अनि मोजाका लागि धेरै फोहोर कपडा प्रयोग गरिरहेको छ । भनिन्छ – रुसले आफ्नो हतियार कारखानाको उत्पादन बढाउन सकेको छैन । रुससँग पैसा र सामग्री भए मात्र यसो गर्न सकिन्छ ।

यसअघि सोभियत सेनाले पश्चिमी हतियारको सहयोग पाएका तालिबानि आतङ्ककारीहरुबाट ठूलो क्षति बेहोरेर भाग्नुपरेको थियो । कार्टर नीति संस्थानका जोर्डन कोहेन भन्छन्, ‘युक्रेन र रुस दुबैले कुनै विकल्प बिना आत्मसमर्पण गर्ने छैनन् । युक्रेनका हकमा यदि पश्चिमी देशहरूले हतियार प्रदान गर्न अस्वीकार गरे भने उ आत्मसमर्पणका लागि बाध्य हुनेछ । रुससँग अझै पनि युद्ध लड्न पर्याप्त सैनिक र हतियार छ तर यो युद्धका कारण रुसी अर्थतन्त्र केही हदसम्म कमजोर भएको छ र यसले लामो समयसम्म युद्धलाई थेग्न सक्दैन । यसले रूसलाई वार्ताको टेबलमा ल्याउन सक्छ वा रुसले बिस्तारै आफ्नो आक्रमण कम गर्दै लानेछ ।

प्रतिक्रिया