शनिबार, जेठ ५, २०८१

बागमती प्रदेश सभाको बैठक : विधेयक व्यवस्थापन विशेष समिति गठन गर्न स्वीकृति प्रदान

नेपालखोज २०७९ फागुन १४ गते ६:२७

काठमाडाैं । बागमती प्रदेशसभाको हिजाे साँझ बसेको बैठकले विधेयक व्यवस्थापन विशेष समिति गठन गर्न स्वीकृति प्रदान गरेको छ । बैठकले १५ सदस्यीय विशेष समिति गठन गर्न स्वीकृति प्रदान गरेको हो ।

उक्त विशेष समितिमा प्रदेशसभाका सदस्यहरू आशा लामा, उद्धव थापा, कुन्दनराज काफ्ले, छिरिङदोर्जे लामा, जयराम थापा, डा दिनेशचन्द्र देवकोटा, प्रकाश श्रेष्ठ, रामकृष्ण चित्रकार, राधिका तामाङ, रत्नप्रसाद ढकाल, वसन्तप्रसाद मानन्धर, शैलेन्द्रमान बज्राचार्य, मधुसुधन पौडेल, सृजना सैजू र सुरेन्द्रराज गोरसाईं छन्।

यसैगरी सोही बैठकमा आजै साँझ विशेष समयमा ११ जना प्रदेशसभाका सदस्यले प्रदेश सरकारको विभिन्न घटनाक्रमलाई लिएर आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

उनीहरूले प्रदेशको सिन्धुली र मकवानपुरमा केही दिनदेखि जङ्गली जनावर (हात्ती र बाघ)को आक्रमणले तीन नागरिकको मृत्यु भएकामा प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए । उनीरूले जङ्गली जनावरको आक्रमणबाट मृत्यु भएका परिवारप्रति समवेदना प्रकट गर्दै क्षतिपूर्ति दिलाउनुपर्ने माग गरे

यसैगरी उनीरूले हिंस्रक वन्यजन्तुबाट मावन बस्तीमा बरोबर आक्रमण गर्ने र बालीनालीप्रति क्षति पुर्याउँदै आएकामा वन्यजन्तु आरक्षले ती जनावरलाई नियन्त्रण गर्ने प्रयास नगरेकामा र पीडित भएका परिवारलाई अहिलेसम्म पनि सम्पर्कमा नरही उनीहरूलाई औषधोपचार क्षतिपूर्ति नदिएकोप्रति आपत्ति जनाउँदै प्रदेश सरकारले सङ्घीय सरकारमार्फत वन्यजन्तु आरक्षलाई सम्बन्धित निकायमार्फत सम्पर्क गराउनुपर्ने माग गरे ।

किसानहरूले उत्पादन गरेको कृषि उत्पादनबाट उचित बजार मूल्य पाउन नसकी सडकमा फ्याँक्नुपर्ने अवस्था आएकामा प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्ने माग गर्नुहुँदै किसानलाई समयभित्रै मलखाद उपलब्ध गराउन र विभिन्न मौसमी तरकारी खेती गर्न ऋण उपलब्ध गराउनुपर्ने सुझाव दिए ।

उनीहरूले सामुदायिक वनको उपभोक्ता समितिलाई अझै प्रभावकारी बनाएर वनको संरक्षण गर्नेतर्फ प्रदेश सरकार गम्भीर हुनुपर्ने माग गरे । यसैगरी मकवानपुरको वकैया गाउँपालिका–५ मा रहेको मानव बस्तीमा सामान्यरूपमा खानेपानीको व्यवस्था नहुँदा सर्वसाधारणले कुवाको पानी पिउनुपर्ने र सो कुवामा रसायन मिसिएको पानी पिउँदा स्थानीय जनतालाई गम्भीर प्रकृतिको रोग लाग्ने भएकाले प्रदेश सरकारले खानी विभागमार्फत उक्त रसायन नियन्त्रण गर्न अग्रसर हुनुपर्ने बताए ।

उनीहरूले देशको आर्थिक अवस्था निकै खस्किँदो अवस्थामा रहेकाले अर्थविद्हरूसँग परामर्श गरेर आगामी आर्थिक वर्षका लागि बजेटको तर्जुमा र टुक्रे योजनालाई हटाएर राष्ट्रिय गौरवको योजनालाई समेट्नुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराए ।

विशेष समयमा बोल्नुहुने सदस्यहरूमा इन्द्रबहादुर बानियाँ, उद्धव थापा, हरि सापकोटा, डा दिनेशचन्द्र देवकोटा, भरत केसी, रमा आलेमगर, मधुकुमार श्रेष्ठ, सुरेन्द्रराज गोरसाईं, भारती पाठक, प्रेमबहादुर पुलामी, कुमारी तामाङ र सरोज अर्याललगायत छन् ।

सो बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले दुईवटा विधेयकलाई दफाबार छलफलको विधयक व्यवस्थापन विशेष समितिमा पठाउन प्रस्ताव टेबुल गरेका थिए । उनले प्रस्तुत गर्नुभएको प्रस्तावमा निजामती कर्मचारी सेवाको गठन, सञ्चालन र सेवाको शर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ र स्थानीय तहका सेवा शर्त तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ रहेका छन् ।

बागमती प्रदेशसभाको अर्को बैठक यही फागुन १४ गते आइतबार दिनको १ बजे बस्नेछ ।

प्रतिक्रिया