सन्दीपको रिटमाथि सर्वोच्चमा सुनुवाइ जारी

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको नाबालिग जबर्जस्ती करणी (बलात्कार)को आरोपसम्बन्धी संयुक्त रिटमाथि सर्वोच्च अदालतको बन्द इजलासमा सुनुवाइ सुरु भएको छ ।
लामिछानेको रिट निवेदन र पीडितको तर्फबाट सरकारले दिएको निवेदनलाई एकै ठाउँमा राखेर न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको बन्द इजलासमा सुनुवाइ अघि बढेको हो ।
सन्दीप लामिछानेले आफूले क्रिके खेल्न विदेश जान पाउनु पर्ने माग निवेदनमा गरेका छन् । सरकारी वकिल कार्यालयले भने उच्च अदालत पाटनले गत पुस २८ गते दिएको आदेश बदर गर्दै सन्दीपलाई थुनामै राखेर मुद्दाको अन्तिम टुंगो लगाउन माग गरेको छ ।
यसअघि शुक्रबार सन्दीपको रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा सुनुवाइ भएपनि विदेश जाने अनुमतिबारे निर्णय भएन । नभएपछि दुवै रिटलाई एकै ठाउँमा राखेर पेशी तोक्न अग्राधिकार दिने आदेश दिएको थियो ।
उच्च अदालत पाटनले गत पुस २८ गते सन्दीपलाई विदेश विदेश जान बन्देजसहित २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । रिहा भएपनि विदेश जानबाट बन्देज रहेको बेला उनले बन्देज खारेजीको माग गर्दै गएको बिहीबार सर्वोच्चमा रिट निवदेन दिएका थिए । उनले धरौटी रकम पनि कम गराउन माग गरेका छन् ।

प्रतिक्रिया