शनिबार, जेठ ५, २०८१

क्रूज यात्राको सपना यसरी पूरा गर्नुहोस्

नेपालखोज २०७९ फागुन १४ गते १४:२१

काठमाडाैं । विगत ३ वर्षदेखि कोरोनाका कारण यात्रा प्रतिबन्ध थियो । त्यति बेला घुम्न जाने रहर पूरा गर्न सम्भव भएन, तर अहिले सबै कुरा सामान्य अवस्थामा फर्किएका छन् । अब तपाईं आफ्नो परिवार सँग आनन्दपुर्वक यात्राको मज्जा लिन सक्नुहुन्छ। यदि तपाईं आफ्नो परिवार वा नजिकका प्रियजनसँग शहरको भीडभाडबाट केही आरामदायक समय बिताउन चाहनुहुन्छ भने क्रूजको यात्रा तपाईंका लागि उत्तम विकल्प हुनेछ । यो हाम्रा लागि नौलो र साहसिक यात्रा पनि हो । पहिले क्रुज यात्रा तेस्रो मुलुकहरुमा मात्र हुने गर्दथ्यो तर अहिले छिमेकी मुलुक भारत मै क्रुज यात्राको अनुभव लिन सकिन्छ र यसका लागि टाढा पनि जानू पर्दैन ।

अंगरिया परिभ्रमण, मुम्बई बाट गोवा

तपाईं मुम्बई र गोवा बीचको क्रूज सवारी मात्र ११ हजार २ सय (७ हजार भारु ) मा तय गर्न सक्नुहुन्छ । यो क्रूज रत्नागिरी , मालवन , विजयदुर्ग तथा रायगढ जस्ता ठाउँहरूमा रोकिदै गोवा पुग्छ । यो क्रूज हरेक साँझ मुम्बईबाट ५ बजे ( भारतिय समय ) प्रस्थान गर्छ र अर्को दिन बिहान ९ बजे गोवा पुग्छ । ८ वटा रेस्टुरेन्ट तथा बारहरूका अतिरिक्त यो क्रूजमा अरु पनि पसलहरू छन् । यो क्रूजमा पौडी पोखरी , आधुनिक लाउन्ज तथा मनोरन्जन कक्ष पनि छन । ईगल नामक कम्पनी द्वारा संचालित यो क्रूजमा एक पटकमा ५ सय जनाले यात्रा गर्न सक्छन् ।

एमवी महाबाहु क्रूज, असम

यदि तपाईं उत्तर पूर्वी भारतका प्रसिद्ध पर्यटक स्थलहरू घुम्न चाहनुहुन्छ भने यो क्रूज प्रयोग गर्न सक्नुहुन्छ । यो क्रूजको मुख्य आकर्षण काजिरंगा राष्ट्रिय निकुञ्ज तथा मयूर टापु हो।

यो क्रूजमा २ रात देखि ७ रात सम्म यात्रा गर्न सकिन्छ । यसका लागि विभिन्न प्याकेजहरू छन् । यो क्रुजमा २ जनाका लागि ४ दिन ३ रातको भाडा २ लाख ६२ हजार ८ सय जति (१,६३,८०० (भारु ) छ । यदि बालबालिका साथमा छन भने ४० हजार (२५ हजार भारतिय रुपैयाँ ) अतिरिक्त खर्च गर्नुपर्छ ।

कोस्टा नियोक्लासिका क्रूज, मुम्बई- माल्दिभ्स

माल्दिभ्स घुम्ने सपना धेरैमा हुन्छ । मालदिभ्स पुग्न क्रूजको यात्रा गरियो भने त्यो पक्कै पनि थप रोमाञ्चक अनुभव हुनेछ । यो यात्राका क्रममा एक भन्दा बढी सुन्दर गन्तव्यहरूको आनन्द लिने मौका पाईन्छ । कोस्टा क्रूजले भारतको पश्चिमी तटबाट ३ देखि ७ दिनको क्रूज यात्रा सुरु गरेको छ । मुम्बईबाट सुरु हुने यो भ्रमणका क्रममा चार रातमा कोची र अर्को तीन रातमा माल्दिभ्सको राजधानी माले पुगिन्छ । यो क्रुजमा यात्रुहरूका लागि स्पा , क्यासिनो , ज्याकुजी तथा चलचित्रको सुविधा पनि उपलब्ध हुन्छ । यो क्रुजमा २ जनाका लागि ८ दिन – ७ रातको भाडा २ लाख २८ हजार ८ सय (१ लाख ४३ हजार भारतिय रुपैयाँ) तिर्नुपर्छ ।

ओबेराय मोटर भेसल वृन्द क्रूज

केरलाबाट सञ्चालन हुने ओबेराय मोटर भेसल वृन्दा क्रूजको यात्रा गर्दा तपाईंले एउटा विलासी यात्राको अनुभव गर्नुहुनेछ । यो क्रुजमा ५ तारे होटलका सबै सुविधाहरू उपलब्ध हुन्छन् । यसको यात्रामा१ लाख दखि सवा लाख ( ६० देखि ७० हजार भारु ) सम्म खर्च गर्नुपर्ने हुन्छ । यो क्रूजले एलेप्पीबाट भेम्बानाडसम्म लैजान्छ । यात्राको क्रममा केरलाको ब्याकवाटरहरूसँगै सुन्दर प्राकृतिक दृश्यहरूको आनन्द लिन सकिन्छ । यसमा बारम्बार प्याक-अनप्याक गर्नुपर्दैन । यो क्रूजमा एक पटक चेक इन गरेपछि एकै पटक चेक आउट गरिन्छ ।

प्रतिक्रिया