आइतबार, जेठ ६, २०८१

दर्दनाक जिन्दगीको साटो आरामदायिक मृत्यु…

नेपालखोज २०७८ माघ २० गते १८:४२

काठमाडौं । मेडिकल जर्नल लान्सेटद्वारा आयोजित विशेषज्ञहरुको एक प्यानलले भनेको छ- अहिले मानिसको मृत्युलाई औषधिहरुको थुप्रोले छोपिदिएको छ । मानिसहरु आफ्नो जीवनको आखिरी दिनहरुमा अनावश्यक पीडा झेल्न बाध्य छन् । किनभने धनी देशका स्वास्थ्यकर्मीहरु उनीहरुको आयु बढाउने प्रयास गरिरहेका छन् । यद्यपि उनीहरुलाई पीडामुक्त मृत्युका लागि मद्दत गरिनुपर्ने थियो ।

उक्त प्यानलका अनुसार धनी देशहरुमा मानिसलाई बचाउने गैरजरुरी कोसिस भइरहेको छ भने अर्कातिर संसारका आधाभन्दा बढी मानिस निकै दर्दनाक अवस्थामा दम तोड्न बाध्य छन् । यसमा खासगरी गरिब देशका मानिसहरु सामेल छन् । लान्सेटको उक्त कमिसनमा बिमारी, सामुदायिक विशेषज्ञ तथा धर्मज्ञाताहरुका साथै स्वास्थ्य एवं सामाजिक विशेषज्ञहरु पनि सामेल थिए, जसले विद्यमान स्थिति बदल्न आह्वान गरेका छन् । यो कमिसनको काम घातक बिरामी तथा चोटहरुका कारण हुने मृत्युमा केद्रित थियो न कि बालबालिकाको मृत्यु, सजाय आदिका कारण वा कुनै हिंसाका कारण हुने मृत्युमा ।

कमिसनकी उपाध्यक्ष डा. लिबी सलनाओ प्यालिएटिभ मेडिसनकी विज्ञ हुन् र उनी युनिभर्सिटी कलेज लन्डनमा सिनियर क्लिनिकल लेक्चररका रुपमा कार्यरत छिन् । एक अन्तर्वार्तामा डा. सलनाओले भनेकी छन्, कोरोना महामारीका दौरान हामीले यो कुरालाई अलग दृष्टिले हेर्यौं । उनले कोरोना महामारीका क्रममा उपचारको स्थितिको उल्लेख गरेकी छन् जहाँ बिरामीको उपचार घरमै वा अस्पतालहरुमा गरिएको थियो ।

त्यस क्रममा जो अस्पतालमा थिए उनीहरुका लागि पीडानासक औषधि उपलब्ध थिय‍ो तर उनीहरुका आफन्त उनीहरुसँग थिएनन् । उनीहरु मोबाइलको स्क्रिनमा आफन्तहरुसँग कुराकानी गर्थे । त्यसको विपरीत जो घरमा थिए उनीहरु पीडा निवारक वा अन्य आवश्यक औषधिका लागि संघर्ष गरिरहेका थिए । यद्यपि उनीहरु आफ्नो परिवार सँगै थिए ।

सलनाओ भन्छिन्- कोरोना महामारीको सुरुवातमा बिरामीको सन्तुलित हेरचार पनि निकै मुस्किल थियो । कोभिडको पहिलो लहरमा मानिसहरु ती कुरासँग जुधिरहेका थिए जसबारे उनीहरुलाई केही थाहा थिएन । यद्यपि संसारले चाँडै के अनुभव गर्‍यो भने जब कोही मृत्युको मुखमा हुन्छ तब उसको नजिक उसका आफन्तहरु हुनु जरुरी छ । कोरोनाका क्रममा लाखौं मानिस अस्पतालमा आफन्तहरुभन्दा टाढा एक्लै छटपटाउँदै मृत्युवरण गरिरहेका थिए ।

लान्सेट कमिसनले २०१८ मै यो काम सुरु गरेको थियो । यो कमिसनले आफ्नो रिपोर्टमा पाँचवटा सिफारिस पनि गरेको छ जसलाई ‘मृत्युप्रतिको नयाँ दृष्टिकोण’ भनिएको छ । कमिसनको पहिलो सिफारिसमा मृत्युसँग जोडिएको सामाजिक अवधारणाहरुको कुरा गरिएको छ जुन दु:खको वरिपरि घुम्छ । कमिसन भन्छ- अब यस्तो अवधारणामा काम गर्नुपर्छ जहाँ जीवन स्वस्थ होस् र मृत्युमा पनि समानता रहोस् ।

कमिसनले मृत्युलाई एउटा भौतिक घटनाभन्दा ठूलो कुरा मान्नुपर्ने कुरा बताउँदै बिरामीक‍ो रेखदेखमा विशेषज्ञहरुका अतिरिक्त परिवारजन तथा समुदायको पनि हिस्सेदारी हुनुपर्ने कुरामा जोड दिएको छ । कमिसनले भनेको छ मृत्युको विषयमा हुने कुराकानीलाई बढावा दिनुपर्छ र सबैले मृत्युको मूल्य बुझ्न जरुरी छ ।
-रोयटर्स फिचरमा आधारित

प्रतिक्रिया