आइतबार, जेठ ६, २०८१

ढाँट्न र छक्काउन अप्ठ्यारो नमान्ने प्रचण्डको असली चरित्र उदांगो : ओली

नेपालखोज २०७९ फागुन १४ गते १६:४२

काठमाडौं । सरकारका प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धोका दिएको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा विभिन्न आन्दोलनका घाइते, बेपत्ता तथा सहिद परिवारको सम्मानमा आयोजित कार्यक्रममा ओलीले देश, जनता र सहयोद्धालाई धोका दिएका प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटक आफूलाई पनि धोका दिएर असली चरित्र देखाएको बताए ।

‘उहाँले जनतालाई धोका दिनुभयो, सहयोद्धालाई धोका दिनुभयो, आफूलाई त्यस ठाउँमा पुर्‍याउनेलाई धोका दिनुभयो, हुँदाहुँदा मलाई समेत धोका दिनुभयो’ अध्यक्ष ओलीले भने । उनले प्रचण्डले ढाँट्न र छक्काउन अप्ठ्यारो नमान्ने गरेको बताउँदै यो पटक असली चरित्र उदांगो भएको उनको भनाइ थियो ।

‘उहाँ एकथोक भाषा बोल्नुहुन्छ, गर्नेबेला अर्थोकै गर्नुहुन्छ’ ओलीले थप भने, ‘दाहिनेपट्टि निशाना लगाउन बायाँपट्टि हेर्नुहुन्छ ।’ उनले प्रचण्डलाई राम्रोसँग चिनेकाले आफू नझुक्किएको ओलीको दाबी गरे । जनताका समस्या अधिकतम समाधान गर्नेगरी न्यूनतम साझा कार्यक्रम बनाएर अघि बढ्न भइरहेको उच्चतम प्रयास प्रचण्डकै कारण असफल भएको उनले बताए ।

एमालेसहित ७ दलको समर्थनमा गएको पुष १० मा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्ड फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनका क्रममा सरकार बाहिर रहेका नेपाली कांग्रेसबाट उठाउन गुरुयोजना बनाएपछि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच दरार पैदा भएको छ । सत्ता साझेदार दलहरुको गठबन्धन नराम्ररी भत्किन पुगेको छ । अहिले संसदको सबैभन्दा ठूलो दल कांग्रेसहित ८ दलीय गठबन्धन बनेको छ ।

प्रतिक्रिया