शनिबार, असार १४, २०८२

हिन्दुहरुका चारधाम

नेपालखोज २०७९ फागुन १५ गते ७:०८

हिन्दुहरुको आस्थाको केन्द्रबिन्दु भएका र टाढा टाढाबाट दर्शनका लागि मानिसहरु पुग्ने अनेकौं मठ – मन्दिरहरु छन् । तैपनि ती मध्ये सबैभन्दा महत्वपूर्ण चारधामलाई मानिन्छ । थुप्रै नेपालीहरु जिवनमा एक पटक भए पनि चार धामको यात्रामा पुग्ने गरेका छन् । यी चार धाम भारतका विभिन्न चार दिशामा अवस्थित छन् । उत्तरमा बद्रीनाथ, दक्षिणमा रामेश्वरम, पूर्वमा पुरी र पश्चिममा द्वारकापुरी छन् । यी तीर्थमा पुगि पुजाआजा गरे मोक्ष प्राप्ति हुने धार्मिक विश्वास छ । यी चार धामको धार्मिक महत्व यति धेरै छ कि हरेक वर्ष ठुलो संख्यामा भक्तजनहरु दर्शनका लागि पुग्ने गर्दछन् । समय-समयमा यी चार धामका ढोकाहरू बन्द रहन्छन् ।

बद्रीनाथ धाम : भारतको उत्तरमा अलकनन्दा नदीको किनारमा अवस्थित बद्रीनाथ धाम भगवान विष्णु प्रति समर्पित छ । मर्यादा पुरुषोत्तम भगवान राम स्वंयमले यो स्थानको स्थापना गरेको धार्मिक विश्वास छ । यो पवित्र स्थानमा अचल ज्ञान ज्योतिको प्रतीकका रूपमा अखण्ड दीप प्रज्वलन गरिन्छ र यहाँ नरनारायणको पूजा हुन्छ । बद्रीनाथ धाम पुजा र दर्शनका लागि ६ महिना खुला रहन्छ । हरेक वर्ष अप्रिलको अन्तिम दिन वा मे महिनामा यो मन्दिरको ढोका खोलिन्छ । यो मन्दिर नोभेम्बरको दोस्रो सातासम्म खुला रहन्छ । त्यसपछि यो मन्दिरको ढोका ६ महिनासम्म बन्द रहन्छ ।

रामेश्वरम धाम : रामेश्वरम भारतको दक्षिणी राज्य तमिलनाडुको रामनाथपुरम जिल्लामा समुद्री किनारमा अवस्थित छ । यो तीर्थस्थल हिन्द महासागर र बंगालको खाडीजस्ता विशाल समुद्रले घेरिएको छ । रामेश्वरम धाम भगवान शिवलाई समर्पित छ । यो धाम भगवान रामले लंका आक्रमण गर्नु अघि स्थापना गरेको विश्वास गरिन्छ। यहाँ शिवलाई लिङ्गका रुपमा पुजा गरिन्छ ।

पुरी धाम : भगवान कृष्ण प्रति समर्पित जगन्नाथ मन्दिर भारतको पूर्वमा रहेको ओडिशा राज्यको तटीय सहर पुरीमा अवस्थित छ । यो मन्दिरलाई वैष्णव सम्प्रदायको मन्दिर मानिन्छ । यहाँ भगवान जगन्नाथ , उनका जेठा भाइ बलभद्र तथा बहिनी सुभद्राको पूजा गरिन्छ । यहाँ हरेक वर्ष रथयात्रा पनि हुन्छ जसमा लाखौं भक्तजन सहभागी हुन्छन् ।

द्वारिका धाम : द्वारका धाम भारतको पश्चिममा अवस्थित छ । यो धाम भगवान कृष्णप्रति समर्पित छ । यो तीर्थस्थल गुजरातको पश्चिमी तटमा अवस्थित छ । समुद्रको किनारमा अवस्थित यो धामको स्थापना भगवान कृष्णले नै गरेको धार्मिक विश्वास छ । द्वारकामा भगवान् कृष्णको पूजा–आराधना गरिन्छ र यहाँ वर्षेनी लाखौं – लाख भक्तजन पुग्छन् ।

प्रतिक्रिया