रुस-युक्रेन युद्ध :अन्त्यहिन लडाइँ तर्फ अग्रसर

युक्रेनमा रुसी आक्रमण भएको एक वर्ष बितिसकेको छ, यद्यपि युद्ध अझै निर्णायक मोडमा पुगेको छैन । रुस यो युद्धबाट सम्मानका साथ फर्कन चाहन्छ, यद्यपि अहिले उसका लागि सम्मानजनक फिर्ति फलामको च्युरा साबित भैरहेको छ । त्यसका लागि चिनले प्रयास त गरेको छ तर अमेरिका लगायत पश्चिमा संसार त्यसबाट सशंकित छ ।
यता अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेन भ्रमण र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग कीभको सडकमा हिँडेको तस्बिरले रुसलाई स्तब्ध बनाएको छ । अमेरिकाको निरन्तरको हस्तक्षेपले रुसलाई थप अप्ठ्यारोमा धकेलेको छ । त्यति मात्र होइन जो बाइडेनले युक्रेनलाई रुसी हवाई आक्रमणबाट जोगाउन गोलाबारुद तथा हवाई निगरानी रडारको ठूलो खेप उपलब्ध गराएर पुटिनलाई यो लडाइँ जित्न नदिने तानाबाना बुनिसकेका छन । यसबाहेक उनले ट्याङ्क विरोधी हतियारका साथ हवाई हमला गर्ने वाचा समेत गरेका छन् ।
गत एक वर्षमा बाइडेनको यो पहिलो युक्रेन भ्रमण थियो । बाइडेन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई जवाफ दिन तयार देखिन्छन् । रुसी राष्ट्रपतिले युक्रेन युद्धको एक वर्ष पुरा भएको अबसरमा ठूलो आक्रमणको घोषणा गर्न सक्ने अनुमान गरिएको थियो तर, त्यस्तो केही भएन । आफ्नो सम्बोधनमा पुटिनले युक्रेनको अवस्थाका लागि पश्चिमा राष्ट्रहरूलाई जिम्मेवार ठहर्याउँदै आएका छन । रुसमाथि युद्ध थोपिएको भन्दै पुटिनले रुसको आक्रमणलाई जायज ठहराएका छन । उनले आफ्नो कदम फिर्ता लिने सङ्केत गर्दै वार्ताका लागि आग्रह पनि गरिसकेका छन ।
रुसी राष्ट्रपतिले युक्रेन पश्चिमी देशको बन्धक बनेको बताउँदै आएका छन् । यता युक्रेनले हरेक आक्रमणको जवाफ दिन तयार रहेको बताएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफू बाँचुन्जेल यो लडाइमा कहिल्यै आत्मसमर्पण नगर्ने कुरा बारम्बार दोहोर्याउँदै आएका छन । यस्तो अवस्थामा यो द्वन्द्व लम्बिने सम्भावना बढि छ । दुविधा पनि यहीँ छ । प्रश्न के हो भने आखिर रुसले युक्रेन युद्धबाट सम्मानजनक फिर्ता हुनुपर्छ वा लडाइलाई अगाडि बढाउनुपर्छ ? पुटिन यो लडाईबाट सम्मानजनक फिर्ता हुन चाहन्छन् तर यो सम्भव देखिँदैन । उनले नै २४ फेब्रुअरी २०२२ मा युक्रेनमा सैन्य आक्रमणको घोषणा गरेका हुन र त्यो शृङ्खला अझै जारी छ ।
रुस यो लडाइँ जित्न चाहन्छ तर अमेरिका लगायत पश्चिमा संसार कुनै पनि हालतमा उसलाई जित्न दिने पक्षमा छैनन् । यहि परिपेक्षमा के कुरा स्पष्ट हुन्छ भने यो युद्ध कुनै पनि समय वा चाँडै समाप्त हुँने छाँट छैन वा त्यसको संकेत देखिदैन । यो नै अहिलेको सबैभन्दा महत्त्वपूर्ण कुरा हो । अहिले पनि डोनबास क्षेत्रमा लामो लडाई जारी छ । युक्रेनको नियत पनि स्पष्ट छ । युक्रेन पश्चिमी देशहरूको थप सैन्य सहायता चाहन्छ । युक्रेनले अमेरिकी एफ–१६ लडाकु विमान पनि चाहेको छ । बाइडेन प्रशासनले युक्रेनलाई सबै प्रकारको मद्दत जारी राखेको छ ।
आणविक हतियार बोक्न सक्ने क्षमता भएका लडाकु विमानले युद्धलाई अझ चर्काउन सक्ने विज्ञहरु बताउँछन् । अमेरिकाले यसअघि नै १०० अर्ब डलरभन्दा बढीको सैन्य सहायता प्रदान गरिसकेको छ र यो ग्राफ लगातार बढिरहेको छ । यस्तो सहयोग बिना युक्रेनले यति लामो समयसम्म रुसको सामना गर्न सक्ने थिएन भन्नेमा कुनै शंका छैन । पश्चिमा मुलुकबाट निरन्तर सहयोग मिल्ने भएकाले पनि यो लडाइँ लम्बिँदै गएको छ । जसको अन्त्य कसरी होला केही भन्न सकिने अवस्था छैन् । यता सारा संसार शान्तिको कामना गर्दै यो युद्धको अन्त्यको पर्खाइमा छ ।
प्रतिक्रिया