युक्रेन माथिको हमला पछि के गुमायो संसारले ?

रुसले २४ फेब्रुअरी २०२२ मा युक्रेन विरुद्ध द्वन्द्वको बिगुल बजाएदेखि नै विश्वका धेरै कुरा प्रभावित भएका छन् । यसले विश्व अर्थतन्त्रमा पनि ठूलो प्रभाव पारेको छ । यो युद्धका कारण विश्वव्यापी खाद्य संकट देखा परेको छ ।
गहुँका साथै अन्य अत्यावश्यक वस्तुको मूल्य बढेको छ । फाइनान्सियल एक्सप्रेसको रिपोर्टका अनुसार रुस–युक्रेन युद्धका कारण ऊर्जा र खाद्यान्नको उच्च मूल्यले ९० भन्दा बढी देशमा अशान्ति फैलाएको छ ।
गोल्डम्यान साक्सका अनुसार, यो युद्धले विश्वव्यापी वृद्धिलाई घटाएको छ। उर्जा संकटका कारण २०२३ मा ग्लोबल जीडीपी वृद्धि १ दशमलव ८ प्रतिशतमा सिमित हुन सक्छ ।
यो युद्धका कारण विश्वभरको आपूर्ति श्रृंखला प्रभावित भएको छ।
जर्मन इकोनोमिक इन्स्टिच्युट (IW) का विज्ञहरू भन्छन् – ऊर्जा र कच्चा पदार्थ आपूर्ति समस्याले संसारभरका कम्पनीहरूलाई दबाब दिइरहेको छ ।
जर्मनीमा गरिएको एक अध्ययनले रुस र युक्रेनबीच चलिरहेको युद्धका कारण सन् २०२२ मा विश्व अर्थतन्त्रलाई १ दशमलव ६ ट्रिलियन डलर नोक्सान पुगेको देखिएको छ । रूस-युक्रेन युद्धबाट पश्चिमी अर्थतन्त्र विशेष रूपमा प्रभावित भएको छ किनभने तिनीहरूले आफ्नो विश्वव्यापी उत्पादनको दुई तिहाइ गुमाएका छन् ।
उक्त अध्ययनका अनुसार २०२३ मा विश्वव्यापी उत्पादन घाटा १ ट्रिलियन डलर वा त्यस भन्दा बढी हुन सक्छ।
युद्धका कारण विश्वभर आपूर्ति र उत्पादन अवरुद्ध भएको अध्ययनले देखाएको छ भने ऊर्जाको मूल्यले आकाश छोएको छ । जताततै मुद्रास्फीति तीव्र गतिमा बढेकाले उपभोक्ताको क्रयशक्ति घट्दै गएको बताइएको छ ।
मार्सेलो एस्टेभाओ विश्व बैंकमा म्याक्रोइकोनोमिक्स , ट्रेड तथा इन्भेष्टमेन्टका ग्लोबल निर्देशक हुन् । मार्सेलो भन्छन् , ‘पाकिस्तान र बंगलादेश जस्ता ऊर्जा आयातकर्ताहरूले धनी युरोपेली देशहरू जत्तिकै तिर्न नसक्ने कारणले संघर्ष गरिरहेका छन् ।’
खाद्य संकट :
रुस र युक्रेन युद्ध अघि जौ, मकै र सूर्यमुखी को शीर्ष आपूर्तिकर्ता थिए। रूसको आक्रमणबाट ति खाद्यान्नको आपूर्ति गम्भीर रूपमा प्रभावित भयो । सन् २०२१ मा विश्वव्यापी गहुँ निर्यातमा दुवै देशको योगदान ३० प्रतिशत थियो । अहिले रुसले युक्रेनको ब्ल्याक सी बन्दरगाहमा नाकाबन्दी गरेको छ जुन अन्नको प्रमुख ढुवानी मार्ग हो । रुसले लगाएको नाकाबन्दीका कारण गत वर्षको तुलनामा २०२२ मा गहुँको मूल्य ३५ प्रतिशतले बढेर मार्चमा उच्च कीर्तिमानी मूल्यमा पुगेको छ । ट्युनिसिया, मोरक्को र इजिप्ट जस्ता देशहरू विश्वका सबैभन्दा ठूला गहुँ आयातकर्ता हुन् । रुस–युक्रेन युद्धका कारण यहाँको आपूर्ति नराम्रो सँग प्रभावित भएको छ ।
गत वर्ष जुनमा इजिप्टका अर्थमन्त्रीले गहुँको उच्च मूल्यले देशको रोटी अनुदान कार्यक्रमको लागत २०२२-२३ मा १ दशमलव ५ बिलियन डलरले बढाउने जानकारि दिए । महँगो खाद्य कार्यक्रमको बोझमा दबिएको इजिप्ट सरकार हालै अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट ३ अर्ब डलर ऋण लिन बाध्य भएको छ ।
महँगो ऋण :
रुस-युक्रेन युद्धका कारण भएको मुद्रास्फीतिले अमेरिकी फेडरल रिजर्भका साथै अन्य प्रमुख केन्द्रीय बैंकहरूलाई ब्याजदर बढाउन प्रेरित गर्यो । विगत एघार महिनामा फेडरल बैंकले मूल्यवृद्धिलाई सुस्त बनाउने प्रयासमा करिब ४ दशमलव ५ प्रतिशतले ब्याजदर बढाएको थियो । अमेरिकाको फेड रिजर्भले ऋण महँगो बनाएपछि विदेशी लगानीकर्ताहरूले उदीयमान बजारबाट लगानी फिर्ता लिन थालेका छन् । पछिल्लो एक वर्षमा केन्द्रीय बैंकले विभिन्न चरणमा पटक पटक ब्याजदर बढाएको छ । विश्वभर कर्जा महँगो हुँदै गएको छ जसका कारण जनताको ईएमआई महँगो भयो । त्यसैले ऋणको उच्च लागतले कर्पोरेटहरूको वासलात पनि प्रभावित भएको छ। महँगो ऋणका कारण माग घट्दै गएको छ । यस्तो अवस्थामा कम्पनीहरूले कामदारमा कटौती समेत गरिरहेका छन् ।
वातावरणीय क्षति:
रुस–युक्रेन युद्धका कारण वातावरणमा पनि ठुलो क्षति पुगेको छ । गार्डियनको रिपोर्टका अनुसार यो पहिलो यस्तो द्वन्द्व हो जसमा वातावरणीय अपराधको पूर्ण गणना भैरहेको छ । प्रतिवेदनमा हावामा विषाक्त धुवाँ फैलिएको , खोलाहरू दूषित भएको, माटो प्रभावित बनेको, रुख एवं बोटबिरुवा प्रभावित भएको बताइएको छ । यस सन्दर्भमा युक्रेनी वैज्ञानिक, संरक्षणवादी, सरकारि अधिकारी तथा वकिलहरूद्वारा व्यापक अनुसन्धान भैरहेको छ। प्रतिवेदन अनुसार यदि आक्रमणकारीलाई क्षतिपूर्ति दावीका लागि जिम्मेवार ठहराउने हो भने हाल त्यो रकम ५० अर्ब डलरभन्दा बढी हुनेछ ।
-युक्रेनको करिब एक तिहाइ (१ लाख ७४ हजार वर्ग किलोमिटर) सम्भावित रूपमा खतरनाक छ।
-युद्धको भग्नावशेषमा ३ हजार नष्ट भएका रुसी ट्याङ्क तथा अन्य सैन्य उपकरणहरूको २ लाख ३० हजार टन धातु स्क्र्याप समावेश छ ।
-१६० प्रकृति आरक्षित , १६ सिमसार क्षेत्र तथा दुई जैविक क्षेत्रहरू विनाशको खतरामा छन् ।
-ब्ल्याक शि मा ‘ठूलो’ हानी भैरहेको छ , जसले ढुवानी र समुद्री जनावरहरूलाई खतरामा पारेको छ।
-६ सय प्रजातिका जीवजन्तु तथा ८ सय ८० प्रजातिका वनस्पति लोप हुने अवस्थामा छन् ।
-युक्रेनी भूमिको एक तिहाइ भाग कृषिका लागि अनुपयुक्त वा अनुपलब्ध छ ।
-खेतीयोग्य जमिनको ४० प्रतिशत भाग कृषिका लागि उपलब्ध हुन सकिरहेको छैन।
अन्य नोक्सानी :
युक्रेनको अनुसन्धान विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२२ को डिसेम्बरसम्म युक्रेनमा रुसी आक्रमणबाट प्रत्यक्ष रूपमा भौतिक पूर्वाधारमा भएको क्षतिको क्षेत्रगत अनुमान यस्तो छ :
आवासीय भवन – २४ बिलियन डलर
पूर्वाधार – ३५ बिलियन डलर
वातावरण – १४ बिलियन डलर
उद्यम र उद्योग सम्पत्ति – १३ बिलियन डलर
शिक्षा – ८.६ बिलियन डलर
ऊर्जा – ६.८ बिलियन डलर
कृषि र भूमि संसाधन – ६.६ बिलियन डलर
यातायात – २.९ बिलियन डलर
व्यापार – २.४ बिलियन डलर ।
प्रतिक्रिया