राष्ट्रसंघको मानवअधिकार परिषद् बैठकमा नेपालको प्रतिनिधित्व गर्दै गोविन्द बन्दी

नेपालखोज २०७९ फागुन १६ गते ७:४३

काठमाडौं । स्वीट्जरल्याण्डको जेनेभामा आयोजित संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदको ५२औं बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व पूर्व कानुनमन्त्री गोविन्दप्रसाद कोइराला (गोविन्द बन्दी)ले गरेका छन् ।

उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शान्ति तथा मानव अधिकार सल्लाहकारको रुपमा परिषदको बैठकमा सहभागी भएको जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

यही कार्यक्रममा परराष्ट्रमन्त्री विमला राई पौड्याल सहभागी हुन जाने तयारीमा रहेको बेला प्रधानमन्त्री प्रचण्डले अन्तिम समयमा उनको भ्रमण रोकेका थिए । प्रधानमन्त्रीले मन्त्रीहरुलाई गर्ने व्यवहार ठिक नभएको भन्दै नेकपा एमालेले सरकारबाट बाहिरिंदै समर्थनसमेत फिर्ता लिएको छ ।

पूर्वकानुनमन्त्री कोइराला सोमबार बिहान जेनेभा पुगेका थिए । सोमबार दिउँसो परिषदले युवा रणनीति २०३० सँग सम्बन्धित छलफल कार्यक्रम आयोजना गरेको थियो । कोइरालाले आज आयोजना हुने परिषदको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

मानवअधिकार परिषदको ५२औं बैठकमा १२५ भन्दा बढी देशका मन्त्री र विशिष्ट व्यक्तिहरु सहभागी छन् । बैठक ४ अप्रिल (फागुन २० गते) समापन हुनेछ ।

प्रतिक्रिया