मेडिकल कलेज चलाउन कोशी अस्पतालसँग पूर्वाञ्चलले विश्वविद्यालयसँग सम्झौता

मोरङ । जिल्लाको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनका लागि कोशी अस्पतालसँग सम्झौता भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयबीच कलेजको प्रयोगात्मक अभ्यासका लागि केन्द्र सरकार मातहत रहेको विराटनगरमा संचालित कोशी अस्पताल प्रयोग गर्ने गरी मंगलबार त्रिपक्षीय सम्झौता भएको हो ।
दुई साता अघि मन्त्रिपरिषदले पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न स्वीकृति दिएपछि कोशी अस्पताललाई प्रयोग गरेर कलेज सञ्चालन गर्ने गरी त्रिपक्षीय सम्झौता गरिएको उपकुलपति प्राडा यादवराज कोइरालाले जानकारी दिए ।
सम्झौता पत्रमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा। रोशन पोखरेल र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति यादवराज कोइरालाले हस्ताक्षर गरेका छन् ।
यसअघि २०७८ माघ २४ गते विराटनगरस्थित कोसी अस्पतालले पूर्वाञ्चल विश्वविद्यालयलाई अभ्यासका लागि अस्पताल प्रयोग गर्न दिने सहमति जनाएको थियो ।
सहमतिको एक वर्षपछि ०७९ माघ २३ गते मन्त्रिपरिषद बैठकबाट विश्वविद्यालय र कोसी अस्पतालबीचको सम्झौता अनुमोदन गर्दै मेडिकल कलेज सञ्चालनको बाटो खुला गरिएको हो ।
मेडिकल कलेज सञ्चालनका लागि ३ सय बेडको अस्पताल चाहिने कानूनी प्रावधान छ ।पूर्वाञ्चल विश्वविद्यालय ९पीयू०सँग सो क्षमताको अस्पताल नभएका कारण चिकित्सा शिक्षा अध्ययनमा विद्यार्थीले विराटनगरस्थित कोशी अस्पतालमा अभ्यास गर्नेछन् । पढाइ भने गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमै हुनेछ ।
२०५२ सालमा मोरङको गोठगाउँस्थित राष्ट्रिय वनको आठ सय पाँच बिघा जमिन मेडिकल कलेज सञ्चालनका निम्ति छुटाइएको थियो । २०६२ मा मेडिकल कलेज चलाउनका लागि ६० करोडको लगानीमा आवश्यक नौ वटा भवन निर्माण र पाँच करोड मूल्य बढीका उपकरण पनि खरिद गरेको थियो । अस्पतालमा चिकित्सक र ३५ जना स्टप नर्सलाई २०६६ सालमै नियुक्ति दिएर हालसम्म तलब खुवाउँदै आएको छ ।
तर, भवन भने रेखदेख र संरक्षण अभावमा लथालिङ्ग र उपकरण पनि काम नलाग्ने अवस्थामा पुगेका छन् ।

प्रतिक्रिया