६ महिनामा गड्डाचौकीबाट सात करोडको तरकारी आयात

नेपालखोज २०७९ फागुन १६ गते १६:५७

महेन्द्रनगर । कञ्चनपुरको गड्डाचौकी नाकाबाट ६ महिनामा रु सात करोड भन्दा बढीको तरकारी आयात भएको छ । कञ्चनपुरका बितेका वर्षमा तरकारी खेतीप्रति किसानको आकर्षण बढिरहेको भए पनि यहाँ तरकारी भारतबाट आउने क्रम रोकिएको छैन् ।

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको साउनदेखि गत पुससम्म यहाँबाट सात करोड ६५ लाख ४४ हजार रुपैयाँको तरकारी आयात गरिएको छ । कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रव विकले चालु आर्थिक वर्षको हालसम्म ८० करोड रुपैयाँको सामान आयात भएको जानकारी दिए । ‘गत वर्ष एक अर्ब १२ करोडको सामान यहाँबाट भित्रिएको थियो’, उनले भने, ‘अहिले आयात घटेको अवस्था छ ।’ भन्सार कार्यालयका अनुसार यहाँबाट आलु, प्याज, गोलभेडा, काउली, मुला, गाजर लगायतका तरकारी आयात हुने गरेको छ ।

कूल ६ महिनामा तीन हजार ४७ मेट्रिक टन तरकारी भारतबाट आयात भएको भन्सारको तथ्याङ्कले देखाएको छ । त्यसैगरी भन्सारबाट तीन करोड ३० लाख रुपैयाँको दाल भारतबाट भित्रिएको छ । यहाँबाट मसुर, मास, मटर, चना लगायतको दाल आयात भएको छ । कञ्चनपुर भन्सार कार्यालयका कम्प्युटर अपरेटर भुषण गिरीले यहाँबाट चालु आर्थिक वर्षको ६ महिनामा तीन करोड ६८ लाख रुपैयाँको फलफूल गड्डाचौकीबाट भित्रिएको छ । गिरीका अनुसार यहाँबाट सबैभन्दा बढी केरा, मेवा, अङ्गुर, स्याउ, सुन्तला र अनार लगायतको फलफुल भारतबाट आयात हुँदै आएको छ ।

त्यसैगरी भारतबाट चामल, दाल लगायतका खाद्यान्नसमेत आयात हुने गर्छ । यहाँबाट एक करोड ७८ लाख रुपैयाँ बराबरको उक्त खाद्य सामग्री भित्रिएको छ । कञ्चनपुर मण्डी व्यवसायी संघका अध्यक्ष विशाल सोनारले भारतबाट तरकारी आयात घटेको बताए । ‘स्थानीय उत्पादनका कुनै समस्या देखिएन भने आयात घट्छ”, अध्यक्ष सोनारले भने, “ उत्पादन बढ्दा आयातमा कमी आउँछ ।’

स्वदेशमै तरकारी खेती बढिरेहको भए पनि व्यावसायिक रुपमा आवद्ध किसानलाई सरकारले अनुदान सहयोग बढाउनुपर्ने बताए । “दश/पन्ध्र वर्ष पहिले तरकारीमा हामी ८० प्रतिशत आश्रित थियौँ”, उनले भने, “अहिले दशरपन्ध प्रतिशत मात्रै आयात हुन्छ की भन्ने छ ।”

प्रतिक्रिया