शुक्रबार, वैशाख १४, २०८१

भात स्वस्थकर कि रोटी ?

नेपालखोज २०७९ फागुन १७ गते ७:३४

नेपालमा कुनैबेला अधिकांशले सकेसम्म पहाडतिर भात र तराईतिर रोटी खाने गरेको पाइन्थ्यो । दैनिक साँझ बिहानै खाइने भात र रोटी नेपालीहरूको मूल खाना थियो । अहिले तराईतिर रोटी खानेहरूले पनि भात नै खान थालेका छन्। भात वा रोटी नेपालीहरूले बच्चैदेखि खाँदै आएकाले जबसम्म यी दुईमध्ये कुनै एक खाँदैनन् तबसम्म तृप्त भएको ठान्दैनन् । अरु जे जे खाए पनि तृप्तिका लागि भात वा रोटी नै खाने गर्दछन् । 

अधिकांश नेपालीले मुख्य खानाका रूपमा भातलाई नै लिने गरेको पाइन्छ। पेटभरि भात नखाइ राम्रोसँग निन्द्रा नै लाग्दैन भन्नेहरू पनि थुप्रै छन् । घरबाहिर कतै घुमफिर गर्न जाँदा पनि मुख्य खानामा भात खाएरै रमाउँछन् । भात विना एक–दुई दिन बस्न पनि मुस्किल हुन्छ भने झैं गर्छन्। सामान्यत: भात भन्दा रोटी खान आम रूपमा नि:शुल्क सुझाव दिने लिने गरेको पाइन्छ ।

के यो सही सल्लाह हो ? भात छोडेर रोटी खान सुरु गर्नु बुद्धिमानी हो त ?

वास्तवमा भात र रोटी दुवैमा उस्ता उस्तै मात्रामा कार्बोहाईड्रेट पाइन्छ । कार्बोहाईड्रेटको मात्राको आधारमा मात्र भात भन्दा रोटी उत्तम भन्नु सही होइन। दुवै अन्न हुन्। क्यालोरीको हिसाबले रोटी भन्दा भातमा अलि बढी क्यालोरी पाइन्छ । भातमा स्टार्च (सिम्पल कार्बोहाईड्रेट) हुन्छ जुन छिट्टै पच्छ र फेरि छिट्टै भोक लाग्छ। रोटीमा प्रोटिन र फाइबरको मात्रा बढी हुन्छ जसले गर्दा पच्न समय लाग्छ । भोक पनि ढिलो लाग्छ । पोष्कतत्वको मात्रालाई तुलना गरी भन्नु पर्दा भातभन्दा रोटी उत्तम मान्नुपर्छ तर यहाँ ध्यान दिनुपर्ने कुरा भनेको यी दुवैमा हुने सोडियमको मात्रा हो ।

प्रत्येक १२० ग्राम गहुँमा ८० मि.ग्रा. सोडियम हुन्छ। सोडियम खान नहुने अवस्थामा रहेकाहरूका (जस्तै उच्च रक्तचापका रोगी) लागि रोटी सही छनोट हुन सक्दैन । रोटीमा क्याल्सियम, पोटासियम, आइरन, फस्फोरस आदि पनि रहेको हुन्छ । भातमा क्याल्सिम हुँदैन। साथै भातले शरीरमा गएर पोटासियम र फस्फोरसको तहलाई घटाउँछ। पच्न समय लाग्ने भएकाले रोटीले रगतमा लामो समयसम्म सुगरको मात्रा सन्तुलित बनाइ रहन्छ ।

भातभन्दा रोटीमा धेरै पोषक तत्व हुन्छ भनेर मात्र हुँदैन । चामल र गहुँको गुणस्तर पनि हेरिनुपर्छ। सन् २०१८ र २०१९ मा नेशनल राईस रिसर्च इन्स्टिच्युट र इन्डियन ह्विट एण्ड बार्ली रिसर्च इन्स्टिच्युटले १६ प्रजातिको चामल र १८ प्रजातिको गहुँका सम्बन्धमा गरेको अध्ययन अनुसार ५० वर्ष अगाडिका चामल वा गहुँभन्दा हिजोआज उत्पादन हुने चामलमा जिङ्क २३.९८ प्रतिशतले र आईरन १६.७ प्रतिशलते कम पाइन्छ । त्यस्तै गहुँमा जिङ्कको मात्रा २९.४२ प्रतिशतले र आईरनको मात्रा १९.२७ प्रतिशतले कम पाइन्छ । भात अस्वस्थकर कुरा कदापि होइन तर सही तरिकाले मात्रा मिलाएर खान सके हितकर एवं स्वस्थकर बनाउन सकिन्छ। सही तरिकाले पकाएर भात खान सिके त्यो अस्वस्थकर नभई स्वस्थकर एवं स्वादिलो पनि हुन्छ।

२) पेय: १४ भाग पानी र एक भाग चामल राखेर पकाउनु पेय हो । यसलाई पनि भातको सट्टामा मर मसला राखेर सब्जीहरुसँग खान सकिन्छ। ३) यवागु: ६ भाग पानी र १ भाग चामल राखेर पाक्ने परिकारलाई यवागु भनिन्छ। यसलाई भातको सट्टामा आवश्यक मर मसला राखेर सब्जीहरुसँग खान सकिन्छ । ४) विलेपी: ४ भाग पानी र १ भाग चामल राखी पाक्ने परिकार विलेपी हो। यसलाई खिचडी पनि भन्न सकिन्छ । यसलाई भातको सट्टामा मर मसला राखेर सब्जीहरूसँग खान सकिन्छ । ५) ओदन: २ भाग पानी र १ भाग चामल राखेर बनाइने परिकारलाई ओदन भनिन्छ। यसलाई पनि मर मसला राखेर सब्जीहरूसँग खान सकिन्छ ।

हाम्रो परम्परागत रोटी पकाउने विधिलाई बदल्न सके रोटी खान मन नपराउनेले पनि रोटी मन पराउन थाल्छन् । ती विधिहरूलाई दैनिक जीवनमा अपनाउन सके रोटी खाई खाई वाक्क भएकाहरूले पनि रमाइलो मानी रोटी खान सक्छन्। रोटी बनाउन विभिन्न थरिका पिठो प्रयोग हुने गरेको छ। गहुँको पिठो (चोक्कर सहित), मैदा (चोक्कर रहित), चामलको पिठो, बेसन (चनाको दालको पिठो), मकैको पिठो, जौको पिठो, कोदोको पिठो, फापरको पिठो, आदि। सबै खालका पिठोको आ–आफ्नै विशेषता छ ।

यी सबै फरक फरक पिठोमा पोषक तत्वहरू पनि फरक फरक प्रकारको मात्र नभएर ती तत्वहरूको मात्रा पनि फरक हुन्छ। रोटीलाई फुल्का, चपाती आदि नामले पनि सम्बोधन गरिन्छ। भात वा रोटीसँग खाइने खानेकुराहरूले पनि त्यसलाई स्वस्थकर वा अस्वस्थकर बनाउने गर्दछ। भात वा रोटी कस्तो खाले चामल वा पिठोले बनेको हो ? बनाउने प्रक्रिया कस्तो हो ? त्यसमा केही मिसाइएको छ कि ? त्यसलाई केसँग खाइयो ? खाँदा चपाइचपाइ खाइएको हो कि होइन ? खाने बेलामा व्यक्तिमा भोक कत्तिको थियो ? व्यक्तिमा कुनै रोग पो लागेको थियो कि ? कति मात्रामा खाइएको हो ? आदि धेरै कुराहरुले प्रभाव पार्ने हुन्छ। निष्कर्षमा भन्नु पर्दा भात वा रोटीको आ–आफ्नै गुण एवं दोष छन् तर तुलनात्मक रूपमा रोटी भात भन्दा धेरै दृष्टिकोणले स्वस्थकर देखिन्छ । श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया